५ जेष्ठ २०८१, शनिबार 1716089221
Banner

आजदेखि मलमास सुरु, के काम गर्दा शुभ अशुभ ?

काठमाडौं : धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास आजैदेखि सुरु भएको छ। पञ्चाङ्गहरूले साउन २ देखि देखि ३१ गतेसम्म मलमास रहने उल्लेख गरेका छन्।

के हो मलमास ?

चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास वा मलमास भनिन्छ। 

हाम्रो प्रचलनमा रहेको पात्रो सौर र चान्द्र गरी दुई प्रकारले चलेको छ। दैनिक कामकाजका लागि सौरमानअनुसार चल्ने विक्रम संवत् चलिरहेको छ भने धार्मिक कार्यका लागि चान्द्रमानअनुसार शालिवाहनीय शाके। 

वैशाख, जेठ आदि बाह्र महिना सूर्यको गति अनुसार चलिरहेको हुन्छ, जसलाई सौरमास भनिन्छ। सौरमासमा २९ देखि ३२ सम्मका दिन हुन्छन्। सौारमानअनुसार वर्षमा ३६५ दिन हुन्छ। शुक्लपक्षको प्रतिपदा (वा कृष्णपक्षको प्रतिपदादेखि कृष्णपक्षको औँसी वा शुक्लपक्षको पूर्णिमा) सम्मको अवधिलाई चान्द्रमास भनिन्छ।

चन्द्रमालाई प्रतिपदादेखि औँसीसम्मको यात्रा गर्न २९ दिन १२ घण्टा, ४४ मिनेट, २४ सेकेण्ड लाग्छ। चान्द्रमान अनुसार वर्षमा ३५४ दिन मात्र हुन्छ। यसरी एक वर्षमा सौरमास लगभग ११ दिनले बढी हुन्छ। सौरमान र चान्द्रमानको गणनामा निश्चित समय भएपछि अधिकमास पर्छ। सामान्यतय एउटा अधिकमासदेखि अर्को अधिकमासको दूरी २७ महिनादेखि ३३ महिना १६ दिन, एक घण्टा ३६ मिनेट पुगेपछि अधिकमास पर्छ।  

पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार संंक्रान्तिविहीन चान्द्रमास अधिकमास हो। अर्थात् एउटा सौर मासमा दुईवटा औँसी पर्दा त्यो महिना अधिकमास हुन्छ। 

के काम गर्दा शुभ अशुभ ?
मलमासभर शुभकार्य गर्न नहुने धार्मिक मान्यता पनि छ । मलमासमा कामना गरेर गर्ने बिबाह, ब्रतबन्ध, रुद्री, सप्ताह गर्ने , गृह प्रबेश गर्ने लगायतका काम्यक कर्म गर्न नहुने बताईएको छ ।

विवाह पछिको पहिलो वा विवाह गरेको वर्षमा पर्ने मलमासमा पतिको घरमा श्रीमती बसेमा सासूलाई कष्ट हुने, पतिपत्नीको संसर्गबाट गर्भधारण भई जन्मने शिशु रोगी हुने, पतिलाई कष्ट हुने धर्मग्रन्थमा उल्लेख गरिएकाले नवविवाहिताले मलमास बार्नुपर्ने मान्यता रहेको छ ।

नबबिबाहिता दम्पत्तिलाई माइतिमा बोलाएर पुरुषोत्तम नारायण र लक्ष्मीका रुपमा छोरी ज्वाईलाई मालपुवा दान दिने चलन छ । यो समयमा कहिलै नगएका मन्दिरमा जान नहुने र तिर्थाटन गर्न नहुने मान्यता छ । यसो गरेमा अशुभ फल प्राप्त हुनेछ ।

काम्यक कर्म अन्र्तगत पोखरी खन्ने , इनार खन्ने जस्ता कार्य पनि गर्न हुदैन । यसैगरी,अकस्मात आइपर्ने मृत्युका काज किरिया कर्म , न्वारन जस्ता नैमित्य कर्म गर्न पनि कुनै छेकथुन नहुने बताईएको छ । गौतमका अनुसार सौर्यमान र चन्द्रमानबीच हुने अन्तरका कारण प्रत्येक ३२ महिना १६ दिन ४ घडी पछि मलमास पर्छ । सौर्यमानअन्तर्गत ३६५ दिनको एक वर्ष र चन्द्रमानअन्तर्गत ३५४ दिनको एक वर्ष हुने भएकाले प्रत्येक १२ महिनामा ११ दिनको अन्तर मलमास पर्ने बताईएको छ ।

यसरी ३२ महिना १६ दिन ४ घडीपछि थपिने एक महिना अधिकमास अर्थात् मलमासका रुपमा रहन्छ । किंवदन्तीअनुसार अन्य समयमा १२ महिनाको अधिपति अरुण, सूर्य, भानु नाममा सूर्य रहने तर अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेका र यस्को अधिपत्य स्वयम् भगवान् पुरुषोत्तमले स्वीकार गरेकाले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ ।

मलमासमा भगवान् नारायणको पूजा, पुरुषोत्तम महात्म्य सुन्ने र दान गर्ने परम्परा छ। भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थहरूमा उल्लेख छ ।