४ जेष्ठ २०८१, शुक्रबार 1715948195
Uncategorized

विश्वविद्यालयमा गैरप्राज्ञिक गतिविधि स्वीकार्य हुँदैन : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयमा अराजक, गैरप्राज्ञिक, तथा अराजनीतिक गतिविधि स्वीकार्य नहुने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ६४औँ वार्षिक दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
शिक्षालाई समयसापेक्ष रुपमा सक्षम, समृद्ध बनाउँदै राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

उनले विश्वविद्यालयलाई समयसापेक्ष बनाउन भौतिक संरचना, निर्माण, प्रयोगशाला, पुस्तकालय जस्ता सुविधा उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले केही वर्ष अघिदेखि त्रिवि व्यवस्थापन र पदाधिकारीकाबिरुद्ध सभ्य र प्राज्ञिक क्षेत्रका लागि अस्वीकार्य गतिविधि भइरहेको कुरालाई आफूले नियालीरहेको र सरकारबाट सबै पक्षलाई आफ्ना माग पूरा गराउने नाममा यस्ता गतिविधि नगर्न र समस्याको समाधान वार्ताको माध्यमबाट गर्नसमेत ध्यानाकर्षण गराए ।

उनले अराजक, गैरप्राज्ञिक, तथा अराजनीतिक गतिविधि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारलाई मात्रै नभइ सभ्य समाजलाई नै स्वीकार्य हुन नसक्ने बताए ।

‘केही वर्ष अघिदेखि त्रिवि व्यवस्थापन र पदाधिकारीकाबिरुद्ध सभ्य र प्राज्ञिक क्षेत्रका लागि अस्वीकार्य गतिविधि भइरहेको नजिकबाट नियालिरहेको छु’, उनले भने, ‘सरकारबाट सबै पक्षलाई आफ्ना माग पूरा गराउने नाममा यस्ता गतिविधि नगर्न र समस्याको समाधान वार्ताको माध्यमबाट गर्नसमेत ध्यानाकर्षण गराउन चाहन्छु, त्यस्ता अराजक, गैरप्राज्ञिक, तथा अराजनीतिक गतिविधि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारलाई मात्रै होइन, सम्पूर्ण सभ्य समाजलाई नै स्वीकार्य हुन सक्दैन ।’

यस्तै, टियुको वार्षिकोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहालले शैक्षिक सुधारका लागि शैक्षिक क्यालेन्डर कार्यान्वयनका लागि निर्देशन दिएका थिए ।