१४ बैशाख २०८१, शुक्रबार 1714168842
Banner

नेपालको ब्ल्याक बक्स अर्थात प्राज्ञिक वर्ग हराएको सुचना

जसरी विमान दुर्घटना हुँदा कारण, प्रभाव र कमजोरी पत्ता लगाउन अनि रेकर्ड हेर्न ब्ल्याक बक्स (कालो बाकस) खोजिन्छ। त्यसैगरी देशमा समस्यामा परिरह्यो भने प्राज्ञिक वर्गहरू खोजेर उनीहरूको धारणा, दृष्टिकोण अथवा विश्लेषण सुनिन्छ। तर नेपालको कालो बाकस अर्थात प्राज्ञिक वर्गहरू हराइरहेको वा मौन बसेका कारणले देशले स्वभाविक गतिमा प्रगति गर्न सकेको छैन्। देशको कालो बाकस किन हराएको वा मौन बसेको छ, अध्ययनको विषय बनाउनु परेको छ।

देश कमजोर र लोकतन्त्र जनमुखी नहुनुको मुख्य कारण खराब शिक्षा व्यवस्था, आर्थिक तथा न्यायिक प्रणाली र प्रशासनिक संरचना नै हो। तर हाम्रो प्राज्ञिक वर्गले २०६२/६३ को जनआन्दोलनपछि राजनैतिक तथा संवैधानिक व्यवस्थामा परिवर्तनको बहस भइरहँदा शैक्षिक, आर्थिक, प्रशासनिक तथा न्यायिक प्रणालीको संरचनामा पनि आधारभूत परिवर्तन गर्नुपर्छ भनेर बोलेन लेखेन। जसले गर्दा राजनीतिक नेतृत्वहरूले आफूलाई शैक्षिक, आर्थिक, प्रशासनिक तथा न्यायिक प्रणालीका मुद्दामा केन्द्रीत गराउन सकेनन् र बाध्य भएनन्। प्राज्ञिक वर्गको त्यो खालको कमजोरीका कारणले आज राजनैतिक तथा व्यवस्थालाई अस्थिर बनाउन चाहनेहरूको मनोबल पनि बढ्न थालेको छ।

नेपालको शिक्षा व्यवस्था अझै पनि म्याकुल्लेको सिद्धान्तबाट निर्देशित भइरहेको छ। यो नै हाम्रो शिक्षा व्यवस्थाको मुख्य कमजोरी हो। त्यहि खराब शिक्षा व्यवस्थाको उत्पादन भएका कारणले हुनुपर्छ, प्राज्ञिक वर्गले देशको स्वार्थमा आफूलाई क्रियाशील गर्ने सामर्थ्य देखाएन अर्थात प्राज्ञिक वर्ग देशको ब्ल्याक बक्स हरायो वा बन्नै सकेन वा चाहेन।

प्राज्ञिक वर्गले समस्याहरू के के हुन र त्यसका समाधानहरू के के हुन सक्छन् भनेर स्वतन्त्र भएर भन्न सक्नुपर्छ। यदि सक्दैन भने यात प्राज्ञिक वर्ग दासमा परिणत भएको छ यात हामीले जसलाई प्राज्ञिक वर्ग भनेका छौं, तिनीहरू प्राज्ञिक नै हैनन् यसको अन्तर्य हाम्रो शिक्षाको दर्शन, उद्देश्य, नीति र अभ्यासमा नै खराबी छ भनेर बुझ्नुपर्छ।

नीतिहरूको राजा राजनीति होभने राजनीतिको राजा शिक्षा हो। शिक्षा व्यवस्था खराब हुँदा राजनीति बिग्रियो, राजनीति बिग्रदा राज्यको नीति बिग्रियो अनि राज्यको नीति बिग्रदा शिक्षा पनि बिग्रियो। शिक्षा, राजनीति र नीति बिग्रदा देशको कर्मचारी र न्याय प्रशासन, अर्थ प्रणालीमात्र होइन भाषिक, सामाजिक तथा सांस्कृतिक अभ्यास र धार्मिक विश्वासमाथि पनि अतिक्रमण बढ्दो छ। यो आजको यथार्थ हो, तर देशको ल्ब्याक बक्स यसका बारेमा बोल्दैन अर्थात मौन छ। यसबाट हामीले बुझ्नुपर्छ, शिक्षा व्यवस्थालाई यथास्थितिमा राखेर ‘सम्वृद्ध नेपाल सुखी नेपाली’ बनाउने हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्न सकिदैन्। त्यसैले कुनै अलमल नगरी पूर्वीय दर्शनको जगमा पश्चिमा दर्शनको सन्तुलन मिलाएर नयाँ शिक्षा व्यवस्थाको विकासमा केन्द्रीत भएर शिक्षाविददेखि लिएर राजनीतिक नेतृत्वहरू इमानदार रूपमा क्रियाशील हुनुपर्छ।

देशलाई सम्वृद्ध बनाउन जनताको दिमाग र श्रम चाहिन्छ। त्यो दिमाग भएको र श्रम गर्न सक्ने जनशक्ति विकास गर्न त्यस्तै शिक्षा पनि चाहिन्छ। आज त्यो शिक्षाको अभाव खड्किएको छ। राम्रो मतिष्क र इमानदार मन भएका अनि काँधमा जिम्मेवारी बोक्न सक्ने नागरिकदेखि नेतृत्व तयार गर्ने शिक्षाको विकास अनिवार्य भएको छ। त्यसैले असल नागरिकदेखि नेतृत्व तयार गर्न सक्ने शिक्षा व्यवस्थाको विकासमा योगदान गर्ने अवसर मिलेको र समय आएको छ।

शिक्षाले हरेक नागरिकलाई भावनात्मक, मानसिक, भौतिक तथा आत्मिक रूपमा देशसँग जोड्न सिकाउन सक्नुपर्छ। अनि नागरिकलाई देशको प्रगतिमा योगदान गर्न रमाउने बनाउनु पर्छ। विगतबाट सिकेर भोलिको प्रश्नमा केन्द्रीत हुँदै आज क्रियाशील हुने नयाँ पुस्ता तयार गर्ने लक्ष्य लिएर नयाँ शिक्षा व्यवस्थाको विकास बाहेक अर्को विकल्प छैन भनेर प्राज्ञिक वर्ग बोल्नुपर्छ वा ब्ल्याक बक्सको रेकर्डमा त्यो भेटिनु पर्छ।

पत्रपत्रिकाहरूमा पढ्न पाईंन्छ, जनतामा साक्षरता बढ्यो तर चेतना बढेन। अनि यो साक्षरता बढ्ने चेतना नबढ्ने शिक्षा व्यवस्थाका बारेमा न मिडिया बोल्छ न त प्राज्ञिक जगत नै। २०४६ सालको जनआन्दोलनपछिका ३२ वर्षमा नेपालको साक्षरता प्रतिशत ३२.९८ बाट बढेर ७० भन्दा माथि पुगेको तथ्यांक भेटिन्छ। तर साक्षरता प्रतिशतमा भएको वृद्धिको अनुपातमा आर्थिक वृद्धि हुन सकेको छैन्। त्यतिमात्र होइन पछिल्लो समय त नागरिक पलायन पनि बढ्दो छ। यसले हाम्रो शैक्षिक प्रणालीसँगै आर्थिक, न्यायिक र प्रशासनिक प्रणाली अनि नीतिले पनि देशको पक्षमा काम नगरेको प्रमाणित गरेको छ।

यी समस्याहरूमा केन्द्रीत भएर हामीले हाम्रा नीति र अभ्यासहरू र यसमा भएका त्रुटीहरूका बारेमा समिक्षा गर्नैपर्ने भएको छ। नीतिगत त्रुटीका कारणले नागरिक पलायन बढेको छ। यस्ता खालका नीतिगत त्रुटी र अभ्यासहरूमा सुधार गर्नका लागि राजनीतिकदेखि लिएर प्रशासनिक नेतृत्वहरूले आफ्नो ईच्छाशक्ति देखाउने बेला भएको छ। यसका लागि सबभन्दा पहिला शिक्षा व्यवस्थामा नै आमूल परिवर्तन गर्नुपर्छ।

शिक्षा प्रणालीमा सुधारले मात्रै देशमा अहिले देखिएका समस्याहरूको समाधान हुनेवाला छैन्। किनभने यथास्थितिमा सुधारको कुनै अर्थ छैन् समस्या शिक्षाको दर्शन, उद्देश्य, नीति र कानुन अनि अभ्यासमा छ। तर हामीहरू भने सामान्य सुधारको तर्क गरेर समस्याबाट पन्छिने प्रयास गरिरहेका छौं। जसले शिक्षा व्यवस्थामा आमूल परिवर्तनको मुद्दाले प्राथमिकता पाउन सकेको छैन्। यो देश र जनताप्रति धोका हो।

खराब शिक्षाले असल चेतना कहिल्यै दिदैन्। खराब चेतनाले ठीक र बेठीक छुट्याउने सामर्थ्य पनि देखाउँदैन्। खराब शिक्षा, चेतना र कमजोर सामर्थ्यले हामीलाई ठीक निर्णयमा पुग्न पनि दिदैन। १४ वर्षको उमेरमा विवाह, १५ वर्षको उमेरमा सन्तान अनि १८ वर्षको उमेरमा डिभोर्सको समाचार हाम्रो शिक्षा प्रणाली असफल भएको प्रमाण हो। शिक्षा प्रणालीमा आमूल परिवर्तन कहिले ? प्राज्ञिक वर्गहरू किन बोल्दैनन् ? यसैले बाध्य भएर प्राज्ञिक वर्ग अर्थात ब्ल्याक बक्स हराएको सुचना सार्वजिक गर्नु परेको छ।