४ जेष्ठ २०८१, शुक्रबार 1715937582
कला/साहित्य

भक्तपुरमा आजदेखि हृदयचन्द्र नाटक मेला सुरु

भक्तपुरको लिवालिस्थित आस्था थिएटरमा आजदेखि हृदयचन्द्र नाटक मेला सुरु भएको छ । नाट्यकर्मी समाज नेपाल र आस्था सांस्कृतिक परिवारले संयुक्तरूपमा आयोजना गरेको नाटक मेलाको बागमती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईंले उद्घाटन गर्नुभयो ।

यही फागुन १२ गतेसम्म पाँच दिन दैनिक दुई नाटकका दरले प्रदर्शन हुने नाटक मेलामा आज पहिलो दिन आयोजक समितिको ‘शरणगतको स्वागत’ र पारागण एकेडेमी स्कुलको ‘खैराँती मास्टर’ प्रर्दशन गरिएको नाट्यकर्मी समाजका निरज लवजुले जानकारी दिनुभयो । भक्तपुरका सात विद्यालयका विद्यार्थीको नाटक प्रस्तुत रहने मेलामा दोस्रो दिन ख्वप माविको ‘मरुभूमिका लेखक’ र पञ्चकन्या माविको ‘श्रीमैयाको इयर्लिङ’, तेस्रो दिन बाल विकास इङ्लिस सेकेन्डरी स्कुलको ‘खैराँती मास्टर’ र आयोजक समितिको ‘शरणागतको स्वागत’ को प्रस्तुत गरिने छ । खैराती मास्टर दुई समूहले प्रस्तुत गर्ने र शरणागतको स्वागत दुई दिन प्रस्तुत गर्ने उहाँले जानकारी दिनुभयो ।

चौथो दिन प्रभात इङ्लिस सेकेन्डरी स्कुलको ‘राजनीतिक रङ्गमञ्च’, ख्वप कलेजको ‘उनी देवता हुन्’ र पाँचाँै तथा अन्तिम दिन जेन्युइन सेकेन्डरी स्कुलको ‘कीर्तिपुरको युद्धमा’ र आयोजक समितिको ‘गङ्गालालको चिता’ नाटक मञ्चन गरिने आयोजक समितिका सदस्य लवजुले बताउनुभयो । नाटक प्रत्येक दिन मध्याह्न १२ बजे पहिलो सो र दिउँसो ३ बजे दोस्रो सो प्रदर्शन गरिने छ ।