२०७९ आश्विन १२ बुधबार 1664370737
Banner

दिवसको नाम मै शोषित भए श्रमिक महिला

११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस आज नेपालमा पनि मनाइदैछ । यो दिवस सर्वप्रथम १९०९ फेबु्रअरी २८ मा मनाइएको थियो । मार्च ८ मा नारी दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालसहित विश्वभर मनाइने गरिन्छ । श्रमिक महिलाले पूजिपतिलाई चुनौति दिदै समान कामको समान ज्याला देउ भनेर आवाज उठाएको दिन, स्वयम् श्रमिक महिलाहरु ‘भिक्टिम’ हुन पुगेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस केवल महिला दिवस होइन श्रमिक महिला दिवस हो । यो दिवसको उठान नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो । श्रम बजारले महिलाको श्रमलाई अवमूल्यन गर्दै गर्ने श्रम शोषणको विरुद्धमा उठाएको आवाजले यो दिवस मनाउन बाध्य पारिएको हो । तर, शासकहरुले श्रमिक महिलाको आवाज स्थापित हुने भयले दिवसको नाममा नै चलखेल गरी श्रमिक भन्ने शब्द झिकिदिएका छन् । श्रम र श्रमिकको आवाज झल्किने डरले उनीहरुले तयार गर्ने नारामा पनि घोप्लाबाजी गरेका छन् । सरकारले यसवर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको ‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ राष्ट्रिय नारा तय गरेको छ । यो नाराले महिलाले गर्ने श्रम र ज्यालालाई कहिं कतै सम्वोधन गरेको पाइएको छैन । श्रम बजारको विभेद अन्त्य गर्ने कुरा पनि कहीं कतै उल्लेख छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक, अधिकारको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा कार्य गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संघ–संस्थाहरूमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँको विज्ञप्तिमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हुनुपर्नेमा श्रमिक शब्द नै हटाउनु भएको छ र सरकारले तय गरेको नारामा पनि महिला श्रमिक र समान कामको समान ज्यालाको कुरा कहिं पनि उल्लेख छैन । यसरी हेर्दा के भेटिन्छभने यो सरकार श्रमिक महिलाको कुरा पनि सुन्न चाहदैन र समान कामको समान ज्यालाका सन्दर्भमा निक्कै सचेत भएर हटाउने गरेको छ । प्रधानमन्त्रीको बक्तव्यमा श्रमिक महिलाको कही संवोधन भएको पाइन्न । आफू मात्रै संसारको प्रजातन्त्रको हिमायती देखाउने अमेरिकाकै श्रमिक महिलाले कपडा कारखानाबाट समान कामको समान ज्याला माग गर्दै गरिएको आन्दोलनले स्थापित गरेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको मर्म र उद्देश्य खोस्ने अधिकार कसैलाई छैन यसतर्फ महिलाहरु सचेत र जागरुक हुन जरुरी छ ।

विश्वका पूंजिवादीहरु एक गठ भएर श्रमिक महिलाहरुले उठाएको आवाजको मर्ममा नै प्रहार गरेका छन् । श्रमिक महिलाहरुले समान कामको समान ज्यालाको माग गर्दै श्रम बजारमा महिलामाथि हुने गरेको शोषण, दमन र श्रम बजारमा हुने गरेको महिलाको कामको अवमूल्यनको विरुद्धमा उठेको संगठित आवाजको प्रतिनिधित्व संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय स्तरमा ८ मार्चलाई दिवसको रुपमा मनाउने निर्णय ग¥यो तर, यो दिवसको नाममै श्रम र महिलाको अन्तरसम्बन्ध नै गायव गरेको देखिन्छ । समान कामको समान ज्याला स्थापित गराउन तमाम महिलाहरु र अधिकारकर्मीहरु एकजुट हुन जरुरी देखिन्छ ।

सरकारले अहिले पनि नेपालको श्रम बजारमा महिलाले समान कामको समान ज्याला पाउन सकिरहेका छैनन् । नेपालको चिया बगानहरुमा मात्र होइन निर्माण क्षेत्रमा पनि महिला र पुरुषको आधारमा ज्याला दिने गरेका छन् । रोजगारदाताले दिने पारिश्रमिकलाई कामको आधारमा विभाजन गर्नु पर्दछ लिङ्गको आधारमा होइन । अहिले महिला श्रमिकले उठाएको आवाज यो हो । अहिले श्रम बजारका महिला श्रमिकको आवाज एकदिनमा १०० तगारी सिमेन्ट र बालुवा बोक्ने पुरुषले पाउने ६ सय ज्याला र १०० तगारी सिमेन्ट र बालुवा बोक्ने महिलाले पाउने ज्याला ४ सयमात्र किन ? प्रश्न यो हो श्रमिक महिलाको । नदी किनारमा बालुवा चाल्दै गरेकी महिलाले सँगै बालुवा चाल्दै गरेको पुरुष सरहको ज्याला पाउनु पर्छ भन्ने हो, ती श्रमिक महिलाको आवाज । यहाँ केहीलाई भ्रम नपरोस् ती श्रमिक महिलाले आफू मेयर, सांसद वा मन्त्री हुन माग गरेको दिन होइन आज । आज त ती श्रमिक महिलाले कारखाना वा प्रतिष्ठानमा श्रम गर्दा आफ्नो आर्थिक सुरक्षा होस्, शारीरिक सुरक्षा होस्, अपमानित हुनु नपरोस्, गर्व साथ आफ्नो को प्रकृति र ज्यालाको वर्णन गर्ने अवस्था होस् भन्ने दिन हो आजको दिन । आजको दिन श्रम बजारका महिलाले पुरुष सरहको काम गर्दा पुरुष सरहकै ज्याला पाउँ भनेर आवाज उठाएको दिन । कामको प्रकृतिको आधारमा ज्याला तय गर भन्ने दिन हो आजको दिन । लिङ्गको आधारमा कामको पारिश्रमिक दिने चलन अन्त्य गर्न माग गरेको दिन हो आजको दिन । त्यसकारण, श्रमिक महिलाको आवाज सबैले आ–आफ्नो ठाउँबाट उठाऔं र श्रम बजारमा हुने ‘समान कामको असमान ज्याला’ दिने कुसंस्कारको अन्त्य गर्न एक स्वरले सरोकारवाला रोजगारदाता र त्यसलाई संरक्षण गर्ने सरकार अनि राजनीतिक दलको ध्यान आकर्षण गरौं ।