१४ बैशाख २०८१, शुक्रबार 1714167922
Banner

रास्वपाले सरकारलाई दिएको दुई दिनको समय सकियो, आज निर्णायक बार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माग पूरा गर्नका लागि प्रधानमन्त्रीलाई दिएको दुई दिनको समय सकिएको छ। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले रास्वपाको मागको विषयमा दुई दिन समय कुरेपनि कुनै सहमति भएन । शनिबार राति अबेरसम्म चलेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा रहिरहने कि बाहिरिने भन्नेबारे ठोस निर्णय गर्न सकेन । राति ९ देखि झण्डै ११ बजेसम्म चलेको बैठकमा अहिलेको राजनीतिक अवस्था र पार्टीको अडानका विषयमा छलफल केन्द्रीत भएको नेता सन्तोष परियारले जानकारी दिए । ‘आज हामीले बैठकमा समसामयिक नेपाली राजनीतिमा जे भइरहेको छ, त्यो विषयमा कुरा गरेका छौँ’, उनले भने, ‘पार्टीले जुन किसिमको राजनीतिक अवस्था भोगिरहेको छ त्यसमा सदस्यहरुले मत राख्नुभयो ।’

यस्तै राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनका साथै समग्र विषयमा पनि छलफल भएको बताउँदै उनले छलफल अझै जारी रहेकाले आइतबार बिहान साढे ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।

उनका अनुसार बैठकमा सभापति रवि लामिछानेले सत्ता गठबन्धनमा भएको छलफलबारे जानकारी गराएका थिए । आज दिउँसो साढे एघार बजे बस्ने बैठकले सरकारमा रहने नरहने निर्णय गर्ने बताए ।

यसअघि रास्वपाले गृह मन्त्रालयमा आफ्नो दाबी पेश गर्दै सो माग पुरा नभए सरकारबाट बाहिरिनेसम्मको चेतावनी दिएको थियो । जसअनुसार शनिबारसम्मको अल्टिमेटम दिइएकामा रास्वपा अनिर्णित बनेको हो ।