६ जेष्ठ २०८१, आईतवार 1716143844
कला/साहित्य

जन साहित्यिक गोष्ठी सम्पन्न

काठमाडौं । राष्ट्रिय जन साहित्यिक सङ्घ सुनसरीले आगामी मंसीर ४ गते हुने चुनाव केन्द्रित विचार गोष्ठी तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । इटहरी १ स्थित सुनाखरी संगीत प्रशिक्षणको सभाकक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथि संघका प्रदेश १ का अध्यक्ष तथा प्रसिद्ध छन्दोवादी कवि प्रह्लाद पहरेदारले प्रा.डा. बद्रीविशाल पोखरेलद्वारा अस्टे«लियाबाट प्रेषित निर्वाचन तालमेल : भ्रम र वास्तविकता शीर्षकमा विषयपत्र सहित चुनाव केन्द्रित आफ्ना विचार प्रस्तुत गर्नुभयो ।

अस्ट्रेलियाबाट समेत गम्भीर चासो राखेर विषयवस्तु सहित बारबार प्रेरित गर्ने डा. पोखरेलप्रति हार्दिक आभार प्रकट गर्दै पहरेदारले एमालेले गरेको चुनावी तालमेल देश र जनताको हित र रक्षाका लागि रहेको तर पाँच दलीय गठबन्धन सातै प्रदेशको ७ मन्त्रालयलाई १४ मन्त्रालय बनाएर र बढाएर तथा संघको मन्त्री मण्डलमा ६,६ महिना मन्त्री फेर्दे पालैपालो देशमा ब्रम्हलुट गर्ने ठगबन्धन हो भन्दै यो देश र जनताका हित र रक्षा विरुद्ध रहेको बताउनुभयो । यस्तो गठबन्धनलाई चुनावमा पराजित गर्न सकिएन भने नेपालको परराष्ट्र र सुरक्षा नीति भारतीय शाषकको हातमा गठबन्धनले सुम्पिन सक्ने हुँदा यसमा सबै देशभक्त प्रगतिशील लोकतान्त्रिक स्रष्टाहरु सचेत हुनु अपरिहार्य रहेको पहरेदारले बताउनुभयो ।

राजसा महासंघ, सुनसरीकी अध्यक्ष विद्या घिमिरे कार्कीले सुनसरी महासंघका तर्फबाट तयार पारिएको चुनाव केन्द्रित पर्चाबारे उल्लेख गर्दै आगामी चुनावमा गठबन्धनलाई हराउने र एमालेको अगुवाईको तालमेल पक्षधरलाई नजिताए देशकै अस्तित्व खतरामा पर्ने बताउनुभयो । संघका सुनसरी अध्यक्ष रमेश धमलाका अध्यक्षतामा सम्पन्न गोष्ठीमा दुर्गा पराजुली, तीर्थ भट्टराई, अर्जुन बिस्ट, सरस्वती न्यौपाने, सीता दाहाल, लगायत राजसा महासंघका केन्द्रीय,प्रदेश र जिल्ला तहका स्रष्टाहरुले आआफ्ना निर्वाचन लक्षित रचना तथा विचार व्यक्त गर्नुभएको थियो ।