२४ बैशाख २०८१, सोमबार 1715049694
पर्यटन

हिमाली पदयात्रामा महिलाको सहभागिता बढ्दै

शरद् ऋतुको आगमनसँगै रसुवाको हिमाली पद यात्रामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या क्रमशः वृद्धि हुन थालेको छ । कोरोना सङ्क्रमणपश्चात् फाट्टफुट रूपले देखिने पर्यटक पछिल्लो समय सरदरमा दैनिक ५० भन्दा बढी आगमन भएपश्चात् वृद्धिको आभास हुनथालेको हो ।

कोरोनाले धरासायी बनेका हिमाली क्षेत्रका होटल तथा लज चलायमान हुन थालेको र आगन्तुक पाहुनालाई प्रफुल्लित तवरबाट पर्यटन व्यवसायीले छिटोछरितो सेवा दिन थालेका छन् । पदयात्राको क्रममा गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रको भ्रमणका लागि आन्तरिक पर्यटकको रूपमा महिलाको समेत सहभागिता बढ्न थालेको लाङटाङ राष्ट्रिय निकुञ्जको अध्यावधिक अभिलेखले बताएको छ । चालु आर्थिक वर्षको साउनदेखि यही असोज ३० गतेसम्म आन्तरिक एवं बाह्यरूपले आवागमन भएका १३ हजार ८४ पर्यटकमध्ये दुई हजार आठ सय छयालीस जना महिला रहेको निकुञ्जले जनाएको छ । भ्रमण गर्ने ती महिलामा दुई हजार दुई सय ९७ जना स्वदेशी र पाँच सय ४९ विदेशी रहेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका वन प्राविधिक नितेन्द्र सिंहले जानकारी दिनुभयो । निकुञ्ज क्षेत्रमा भ्रमण गर्ने प्रत्येक नागरिकको लगत अत्यावधिक गर्ने र नियमानुसार तोकिएको प्रवेश शुल्क उठाउन पदमार्गका प्रवेशद्वारमा कर्मचारी परिचालन गर्ने व्यवस्थाले पाहुनाको सङ्ख्या यकिन गर्न सहज भएको हो । हिमाली पदयात्राको लागि सुन्दरीजलबाट आउने हेलम्बुतर्फ एउटा र धुञ्चे, चन्दनबारीतर्फको अर्काे यी दुई पदमार्गबाट पर्यटक गोसाइँकुण्ड पुग्ने र चोलाङपार्टीबाट ठूलोस्याफ्रु हुँदै लाङटाङ्को क्याङ्जेन पुग्ने गरेका छन् । हिमाली प्रकृति छटाको रसास्वाधन लिन यही आर्थिक वर्षको साउनदेखि यही असोज २९ गतेसम्म ११ हजार सात सय ५८ नेपाली र एक हजार तीन सय २६ विदेशी पर्यटक निकुञ्जभित्र प्रवेश गरेका थिए ।

आगमन भएका विदेशी पर्यटकमा सार्क राष्ट्रका ६७ जना र अमेरिका, जर्मन, जापान, कोरिया, अष्ट्रेलियासमेत विभिन्न देशका एक हजार दुई सय ५९ जना पर्यटकले भ्रमण गरेको निकुञ्जका वन प्राविधिक सिंहले जानकारी दिनुभयो । प्रतिव्यक्ति नेपालीका लागि रु एक सय, सार्क राष्ट्रका नागरिकको लागि रु एक हजार पाँच सय र अन्य देशका नागरिकको हकमा रु तीन हजार शुल्क लिने कानुनी प्रावधानअनुरूप चालु आवको दुई महिना २९ दिनको अन्तरालमा प्रवेश शुल्कबापत रु पचास लाखभन्दा बढी राजस्व असुली भएको छ । आगन्तु पाउनालाई सफा मौसमको शरदऋतुमा देखिने हरियाली नागबेली परेका हरियाडाँडा, पदयात्रामा भेटिने वन्यजन्तु, उकाली ओराली भञ्ज्याङ चौतारी, कुण्ड, ताल, चट्टान, पहाड, छ्याङ्ग छ्याङ्य गरेर झर्ने ठाडो खोल्छा, स्थानीय परिकारको अर्गानिक खाना, लोकल वेषभूषा, स्थानीय तामाङ सांस्कृतिकको नाचले मनमोहक बनाउने गरेको पर्यटकको भनाइ पाइन्छ । पर्यटकको सेवाका लागि धुञ्चे, स्याफ्रुबेँसी, ठूलोस्याफ्रु, लाङटाङ तथा गोसाइँकुण्डसमेतका स्थानमा एक सयभन्दा बढी लज तथा होटल सञ्चालनमा रहेकोले आगन्तु पाउनालाई खानबस्न कुनै समस्या नपर्ने बताउँदै पर्यटकीय होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेल (निसान) ले निर्धक्क साथ यात्रा गर्न सम्पूर्ण पाउनालाई अनुरोध गर्नुभयो । गोसाइँकुण्ड तथा लाङटाङ्क साथै तामाङ सम्पदा मार्गअन्तर्गत गोल्जुङ, गतलाङ, चिलिमे, नाकथली, थुमन तथा वृद्विम होस्ट्रेसम्मको यात्रासमेत रोमञ्चकारी बन्दै गएको र गतलाङ क्षेत्रमा पुग्ने पाउनालाई स्थानीय कला संस्कृतिको साथै नेपाल तिब्बत युद्धको समयमा पुर्खाले गरेका युद्वको झलकसमेत देखाइने गरेकोले होमस्ट्रेमा बासबस्ने पर्यटकको पहिलो रोजाइ गतलाङ हुने गरेको पर्यटन व्यवसायी फुर्पु तामाङले बताउनुभयो ।