१४ बैशाख २०८१, शुक्रबार 1714157214
Banner

वालुवाटारबाट बालकोट पुर्यायौं भन्दै आलोचना गर्नेहरु अहिले बालकोट धाउन थाले : महेश बस्नेत

भक्तपुर । नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीति तथा विकास र समृद्धिको सिंह भएकाले सिंह जहाँ बस्यो त्यही सिंहदरवार हुने उद्घोष गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित नवनिर्मित सूर्यविनायक नगर अस्पतालको उद्घाटन तथा सेवा प्रारम्भ कार्यक्रममा बोल्दै नेता बस्नेतले मुलुकको राजनीति केपी ओली वरिपरि घुमिरहेको उल्लेख गर्नुभयो । नेता बस्नेतले हिजो वालुवाटारबाट बालकोटको बार्दलीमा पुर्यायौं भन्दै आलोचना गर्नेहरु अहिले मुलुकको संकट समाधानको लागि बालकोट नै धाउन थालेको बताउनुभयो । अध्यक्ष ओलीलाई परमादेशबाट हटाई पाँच दलीय गठबन्धनले बालकोटको बारदलीमाा पुर्याएको भन्दै आलोचना गर्नुभयो । सोही कुरालाई लक्षित गर्दै नेता बस्नेतले केपी ओली नेपाली राजनीति र मुलुकको मियो भएको उहाँको दावी थियो । शेरबहादुर देउवा, पुष्पमकल दाहाल प्रचण्ड तथा माधव कुमार नेपाललाई लक्षित गर्दै नेता बस्नेतले तीन मुखे वर्माहरुले गर्दा मुलुकको विकास नहुने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘केपी ओली नेपालको विकास र समृद्धिको मात्र नभई नेपाली राजनीतिको सिंह हो । सिंह जहाँ बस्यो त्यही सिंहदरवार हुन्छ । सर्वोच्चको परमादेशबाट केपी ओलीलाई वालुवाटारबाट बालकोटको वारदलीमा पुर्यायौं भन्नेहरु अहिले मुलुकको संकटलाई टार्न प्रधानमन्त्रीदेखी लिएर सत्तारुढ दलका नेताहरु बालकोटमा नै पुग्न थालेका छन् । आशा छ, विग्रनै लागेको नेपाली राजनीति अब केपी ओलीको पहलमा सुधार हुनेछ, मुलुक संकटको बाटोमा जान पाउने छैन । भिजन दुरदृष्टि भएको नेता मुलुकको लागि आवश्यक रहेको छ । आवश्यकता अनुसार मुलुकको लागि भिजन तथा दृष्टिकोणलाई पुरा गर्ने नेता केपी ओलीमात्र हो । तीन मुखे वर्माहरुले गर्दा मुलुकको विकास सम्भव छैन ।’

वर्तमान सरकारको काम केपी ओली नेतृत्वको सरकारले जारी गरेको नेपालको नया चुच्चे नक्सालाई बुच्चे बनाएको उहाँले बताउनुभयो । वर्तमान सरकारको गतिविधिले नेपाली जनता भोकमरीको अवस्थामा पुग्ने संकेत देखा परेको उल्लेख गर्दै उहाँले पछिल्लो समय केपी ओली नेतृत्वको सरकार जनताले खोजिरहेको बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चारमुखे भएको आरोप लगाउँदै उहाँले एमसीसीका मामलामा प्रचण्डले गरेको अपरिपक्व कदमका कारण समस्या भएको बताउनुभयो ।

एमाले नेतृत्वको सरकारले भक्तपुरलाई नेपालकै नमुना जिल्लाको रुपमा विकसित हुने गरि प्रकृया अगाडी बढाएको उल्लेख गर्दै उहाँले बर्तमान गठबन्धनको सरकार आएसँगै विकास आयोजना काट्ने तथा बजेट निकासा नगरी मुलुकको विकास र समृद्धिको बाधक भएको बताउनुभयो । ओली नेतृत्वको सरकार तथा एमाले नेतृत्वको भक्तपुरको २०७४ देखी हालसम्मको समय स्वर्णिम युग भएको उहाँले बताउनुभयो ।

विगतको नेतृत्वका कारण भक्तपुरले विकास तथा सेवा सुविधाले नदेख्ने गरेको उहाँले नेकपा एमालेको नेतृत्व आएसँगै भक्तपुरको जनताको आवश्यकता, माग र चाहना अनुसारको विकास भई खुसीको मुहार आएको बताउनुभयो । स्वास्थ्य क्षेत्रलाई सुधार तथा कोभिडको समयमा मात्रै ५८ करोड रुपौंया बजेट ल्याई स्वास्थ्य क्षेत्रको व्यापक सुधार भएको उल्लेख गर्दै उहाँले ओली नेतृत्वको सरकारको समयमा भक्तपुरमा १६ अर्वभन्दा बढी रकम ल्याई हालसम्म पनि निरन्तर शिलान्यास र उद्घाटन भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पत्रकार तथा वुद्धिजीवि साथीहरुले नेपालको ह्पाप्पीनेस इन्डेक्सको मापन गर्नुभयो भने भक्तपुरका जनप्रतिनिधिहरुसँग सवैभन्दा बढी जनता खुसी रहेको पाउनुहुनेछ । किन भने चालु सवै सडकहरुलाई निर्माण गरिसकेका छौं । सूर्यविनायक नगरपालिकामा मात्रै ७३ किलोमिटर सडक कालोपत्रे गरिसकेका छौं । खानेपानीका सवै समस्याहरु हल गर्ने चरणमा पुगेका छौं । पहिलो चरणमा भक्तपुरमा मेलम्ची खानेपानी आयोजना छुटेता पनि हामीले जोडेका छौं । हामीले सूर्यविनायक नगरपालिकाभित्र मात्र ३६ वटा सामुदायीक विद्यालयहरुको आधुनिक भवन निर्माण गरेका छौं । स्वास्थ्य क्षेत्रमा भक्तपुरलाई नयाँ हब बनाइरहेका छौं । स्मार्ट सिटी बनाउँदै छौं । गूण्डुमा औद्योगिक क्षेत्रको विकास गर्दैछौं ।’

एमालेका जनप्रतिनिधि तथा नेतृत्वहरु भाषणबाट नभई कामबाट जनताप्रति समर्पित हुने उल्लेख गर्दै फिल्डमा एमालेका जनप्रतिनिधि रहनुभएको छ भने विकास विरोधीहरु डिलमा पुगेको दावी गर्नुभयो । कानुनी हिसावले मात्र २५ वेडको भनिएको भएता पनि ४ वेडको आईसियु, १० वेडको एचडियु, ११ वेडको इमर्जेन्सी वार्डसहित ५१ वेडको अस्पताल निर्माण भएको उहाँले जानकारी गराउनुभयो ।