१५ बैशाख २०८१, शनिबार 1714213796
प्रदेश

लुम्बिनी प्रदेश प्रमुख समक्ष लोकसेवा आयोगको प्रतिवेदन प्रस्तुत

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष प्रदेश लोकसेवा आयोगका प्रमुख डिलाराम भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज आयोजित एक कार्यक्रममा लोकसेवा आयोगका प्रमुख भट्टराईले २०७८ श्रावणदेखि २०७९ असारसम्म आयोगले सम्पादन गरेका काम कारवाहीसहितको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

आयोगका प्रमुख भट्टराईले आयोगले प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवामा कर्मचारी पदपूर्तिका लागि ४४ वटा कार्यक्रम निर्माण गरिएको बताउनुभयो । उहाँले प्रदेश निजामति सेवातर्फ वन रक्षक पदको परीक्षा सञ्चालन गरी एक सय छ जना छनोट गरी सिफारिस गरिएको, सहायक पाँचौ तहमा छ जना, सहायक चौँथो तहमा ११ जना छनोट गरी सिफरिस गरिएको जानकारी गराउनुभयो । प्रदेश निजामति सेवा ऐन नबन्दा प्रदेश तहका कर्मचारीको नियुक्ति, सरुवा, बढुवा र अन्य वृत्ति विकासका काम हुन नपाएकाले उक्त ऐन निर्माण आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले कानुन नबन्दा प्रदेश लोक सेवा आयोगले सक्रियता देखाउन नसकेको बताउनुभयो । “आयोग गठन भएको तीन वर्ष पूरा हुँदा पनि काम गर्न नसक्ने अवस्था हुनु दुःखद् पक्ष हो ।

कानुन र व्यवस्थापकीयरुपमा जति प्रदेश बलियो हुन्छ त्यति नै सङ्घीयता बलियो हुन्छ”, उहाँले भन्नुभयो । संवैैधानिक व्यवस्थाअनुसार आयोगले कर्मचारी भर्ना गर्न पाउनुपर्ने बताउँदै उहाँले कर्मचारीको अभावमा जनताले सेवा लिन समस्या हुने अवस्थाको अन्त्य हुनुपर्ने उल्लेख गर्नुभयो । सङ्घीयतालाई बलियो बनाउन सङ्घले प्रदेशलाई पूरा अधिकार दिनुपर्ने उहाँको भनाइ छ ।