२० बैशाख २०८१, बिहीबार 1714658966
Banner

केन्याविरुद्ध आसिफको शतक प्रहार, नेपाल ७ विकेटले विजयी

काठमाडौँ – आसिफ शेखको शतकको सहयोगमा नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा ७ विकेटको जित निकालेको छ । नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले केन्यालाई ७ विकेटले हराएको हो ।

केन्याले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले १ सय १० रनको शतकीय इनिङ खेले । उनले १ सय २० बलमा १२ चौका र २ छक्का प्रहार गरे ।

यस्तै अर्जुन साउदले ६१ रनको अर्धशतकीय इनिङ खेले । ज्ञानेन्द्र मल्ल २४ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन जोड्दा रोहित पौडेलले अविजित ३ रन बनाए ।केन्याका भिसिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट भएर २ सय १८ रन बनाएको थियो । पटेलले ६७ तथा ओबुयाले ६२ रन बनाए । ईफ्रान करिमले ३१ तथा सचिन बुदियाले २७ रन बनाए । नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३–३ विकेट लिए । आदिल आलम र पवन सर्राफले समान १–१ विकेट लिए ।

यस जितसँगै नेपालले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब नेपालले केन्यासँग भोलि शनिबार दोस्रो खेल खेल्नेछ ।