७ बैशाख २०८१, शुक्रबार 1713508947
खेलकुद

साफ च्याम्यिनसिपका लागि दुई राष्ट्रका खेलाडी काठमाडौँमा

नेपालले दोस्रो पटक आयोजना गर्न लागेको साफ च्याम्पियसिपमा सहभागिता जनाउनका लागि दुई राष्ट्रका खेलाडी नेपाल आइपुगेका छन् । यही भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि भूटान र पाकिस्तानका खेलाडीहरु नेपाल आइपुगेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाहले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँका अनुसार सहभागी सबै टोली आइतबारसम्म काठमाडौँ आइपुग्नेछन् । प्रतियोगितामा आयोजक नेपालसँगै भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी सात राष्ट्रको महिला राष्ट्रिय फुटबल टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको ‘ए’ मा नेपाल, श्रीलङ्का र भूटान छन् भने समूह ‘बी’ मा भारत बङ्गलादेश, पाकिस्तान र माल्दिभ्स रहेका छन् । उक्त प्रतियोगिताको तयारीका लागि एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । उपाध्यक्ष खड्काले उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो ।

एन्फाले उक्त प्रतियोगिताको टिकेटिङ, मार्केटिङ र बोर्डकास्टिङ अधिकार भने हन्ड्रेड स्पोर्टस् म्यानेजमेन्ट प्राइभेट लिमिटेडलाई बिक्री गरेको छ । प्रतियोगितामा खेल हेर्न भिआइपी प्याराफिटतर्फ रु पाँच सय र साधारण प्याराफिटतर्फ रु तीन सयको टिकट तोकिएको छ ।