२० बैशाख २०८१, बिहीबार 1714660213
Banner

इराकमा हिंसात्मक प्रदर्शन : २० जनाको मृत्यु, राष्ट्रपति भवन कब्जा

काठमाडौं । इराकका धर्मगुरु मुक्तदा अल-सद्रले राजनीति परित्याग गर्ने घोषणा गरेसँगै हिंसात्मक प्रदर्शन बढेको छ । हालसम्म २० जनाको मृत्यु  भएको र प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

समाचार संस्थाहरूमा प्रकाशित रिपोर्टका अनुसार शिया धर्मगुरु मुक्तदा अल-सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनशन बस्ने घोषणा गरेका छन् । प्रदर्शन रोक्न सेनाले लगाएको कर्फ्यू तोड्दै अल-सद्रका समर्थकहरू सडकमा उत्रिएका छन् । सो क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको छ ।

सदरका हजारौं समर्थकले राष्ट्रपति भवन (रिपब्लिक प्यालेस)मा हमला गरेका छन् । उनीहरूलाई सुरक्षाकर्मीले अश्रुग्यासले रोक्न सकेनन् । प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा कम्तिमा २० जनाको मृत्यु भएको अलजजिराले जनाएको छ । ३०० भन्दा बढी घाइते भएका छन् ।

सुरक्षाकर्मीको कारबाही छल्दै सदरका समर्थकले राष्ट्रपति भवन कब्जा गरेका छन् । उनीहरू स्विमिङ पुल, बैठक हल लगायत पूरै दरबारमा घुमिरहेका तस्बिर सार्वजनिक भएका छन् ।