२१ बैशाख २०८१, शुक्रबार 1714755902
खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : अझै कतिपयमा खेल पूर्वाधारकै चिन्ता

कास्की – विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौँ आयोजनाको जिम्मेवारी पायो ।

गण्डकीको टोलीलाई दुई वर्षपछि नवौँ आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरियो। गण्डकीमा विसं २०७७ को फागुन अन्तिम सातालाई तय भएको राष्ट्रिय खेलकुद यसबीचमा कोरोनाका कारण पटक पटक प्रभावित बन्यो । पछिल्लो पटक आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म प्रतियोगिताको मिति तय गरेर तयारीका काम अघि बढाइएको छ । तरपनि खेल पूर्वाधारकै चिन्ता कायमै छ ।

गण्डकीमा प्रतियोगिता तय भएको तीन वर्षभन्दा बढी समय भयो । तर, अहिलेपनि कतिपय खेलका पूर्वाधारनै छैनन् । गण्डकी प्रदेश अन्य प्रदेशका तुलनामा खेलकुद पूर्वाधारमा अब्बल रहेपनि नवौँलाई लक्ष्य गरी निर्माण गरिने तय भएका खेल पूर्वाधार निर्माण नहुँदा ती खेल कहाँ खेलाउने यकिन भएको छैन ।

खेल पूर्वाधारमा वर्षेनी बजेट विनियोजन गरिएपनि स्वीमिङ ९पौडी पोखरी०, सुटिङ,  हक्की र रग्वी खेलका पूर्वाधार बन्न सकेनन् । प्रतियोगिताको मिति नजिकिदै जाँदा पूर्वाधार तयार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता खेल पदाधिकारी र खेलाडीमा कायम छ ।

पोखरा रङ्गशालाभित्र पौडी पोखरी र सुटिङको पूर्वाधार बनाउन जमिन व्यवस्था गरिएको थियो। राष्ट्रिय खेलकुद परिषद्ले बजेट व्यवस्था गरेको हो । तर यी खेलका पूर्वाधार बनाउन पर्याप्त समय भएपनि कामनै सुरु हुन सकेन ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई आयोजक राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न उपसमिति गठन गरी तयारीका काम अघि बढाएको छ ।  खेलस्थल व्यवस्थापन उपसमितिले अहिले प्रदेशका अधिकांश जिल्लामा पुगेर खेल पूर्वाधार अवलोकन गरेको छ । यहाँ अधिकांश खेलका पूर्धाधार तयारी अवस्थामै छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले पूर्वाधार तयार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्तामा आफूहरु रहेको बताउनुभयो। सो समिति पौडीका लागि पोखरामा रहेका निजी विद्यालय र होटलका पौडी पोखरीलाई प्रतियोगिताका लागि प्रयोगमा ल्याउने योजनामा छ ।

आठौँ राष्ट्रिय खेलकुदमा पनि होटलको पौडी पोखरीमा प्रतियोगिता सञ्चालन गरिएको थियो । पोखरामा पूर्वाधार नभएका खेल काठमाडौँमा खेलाउने योजना रहेपनि यहाँका खेल पदाधिकारी तथा खेलाडी सबै खेल गण्डकीमै हुनुपर्ने पक्षमा छन् । “राष्ट्रिय खेलकुदका लागि मुख्य गरी पौडी र सुटिङको पूर्वाधार हामीसँग छैन । पूर्वाधार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता रहेपनि यसलाई हामी व्यवस्थापन गछौँ”, खेलस्थल व्यवस्थापन उपसमिति संयोजक गुरुङले भन्नुभयो,“राखेपका सदस्य सचिव र पौडी सङ्घको अध्यक्ष सहितको प्राविधिक टोली पोखरा आउँदै हुनुहुन्छ, उहाँहरुसँग छलफल गरेर हामी विकल्प तयार गर्छौं ।”

पोखरा रङ्गशालामा नभएका खेलका पूर्वाधार निर्माण गर्न पर्याप्त समय छ । तर आवश्यक बजेटको सुनिश्तिता नहुँदा काम सुरु नभएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

पोखरा रङ्गशालाभित्र पौडी र सुटिङका लागि यसअघिका दुई आर्थिक वर्षमा लगातार बजेट विनियोजन गरिएपनि सो पर्याप्त नभएको र थप बजेटका लागि स्रोत सुनिश्चित नहुँदा टेण्डर आह्वान लगायतका काम नभएको समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताउनुभयो । पौडी  पोखरीलाई रु ३५ करोड हाराहारीमा लागत स्टीमेट तयार गरिएकोमा सरकारले अघिल्लो वर्ष रु पाँच करोड छुट्टाएको थियो । योगीले भन्नुभयो,“विनियोजित बजेट अपर्याप्त रह्यो र थप स्रोतको सुनिश्तिता नहुँदा टेण्डर आह्वानलगायतका काम अघि बढाउन सकिएन । ”

पोखरा रङ्गशालाभित्र सबै खेलको पूर्वाधार अटाउन सक्ने अवस्था नभएकाले रङ्गशाला बाहिर व्यवस्थापन गरेर सुटिङ बाहेकका नवौँका सबै खेल पोखरा र गण्डकी प्रदेशमै गर्ने योजना रहेको समितिले जनाएको छ । सुटिङलाई भने गण्डकीमा सम्भव नदेखिएको र काठमाडौँमै गर्नुपर्ने बाध्ता रहेको बताइन्छ । रग्वी र हक्कीलाई प्रशिक्षणस्थल तय भएकाले समस्या नहुने समितिले जनाएको छ ।

नवौँलाई गठन गरिएको खेलस्थल व्यवस्थापन उपसमितिले यही भदौ १५ गतेभित्रमा प्रतियोगिताको खेलस्थल तय गर्ने योजनामा छ । खेल पूर्वाधार रहेका जिल्लामा आवास, अस्पताल, यातायात र सुरक्षालाई ध्यानमा राख्दै कुन जिल्लामा कुन खेल सञ्चालन गर्ने भन्ने निर्णय गरिने गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो,“प्रदेशका अधिकांश जिल्लाहरुमा रहेका खेल पूर्वाधारहरुको निरीक्षण गरेका छौँ। खेल सञ्चालन गर्न आवश्यक सबै पक्षलाई हेरेर खेलस्थलको टुङ्गो लगाउने तयारीमा छौँ।”