२६ बैशाख २०८१, बुधबार 1715218215
खेलकुद

नेकोस राष्ट्रिय फुटबल संघले प्रदेश संयोजक तोक्यो

काठमाडौं । नेकोस राष्ट्रिय फुटबल संघको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले ११ सदस्यीय सचिवालय र उपत्यका विशेषसहित सबै प्रदेशमा संयोजक चयन गरेको छ।

संघका अध्यक्ष धीरेन्द्र प्रधानको अध्यक्षता महासंघ केन्द्रीय कार्यलयमा बैठक सम्पन्न भएको हो । बैठकमा महासंघका स्थायी कमिटी सदस्य, आर्थिक विभाग प्रमुख रुपेश अधिकारी, फिफाका पूर्वरेफ्री सचिन आमत्य (आमन्त्रित), महासंघका कानुन विभाग प्रमुख मधुसुधन उपाध्यायलगायत अतिथि थिए ।

बैठकले साउन १६ गतेका लागि नेकपा एमालेले आयोजना गरेको बृहत् जनप्रदर्शनमा नेकोस फुटबल संघको तर्फबाट उत्साहजनक उपस्थिति रहने निर्णय गरेको छ ।

त्यस्तै, ०७९ असार ६ गते सम्पन्न एन्फाको अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित संघका सदस्य रमेश व्यन्जनकार र राष्ट्रिय महिला फुटबल संघको व्यवस्थापकमा नियुक्त भएका संघका उपाध्यक्ष वृन्दा देवानलाई बैठकले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

बैठकले नेकोस फुटबल संघको सदस्यमा सचिन आमत्यलाई मनोनीत गर्दै संघको सचिवको जिम्मेवारी संघका सदस्य मनोरथ आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ।

संघको प्रदेश कमिटी संयोजकमा प्रदेश १ बाट धनबहादुर राई, मधेस प्रदेशबाट प्रविन यादव, बागमती प्रदेशबाट रमेश बुढाथोकी, गण्डकी प्रदेशबाट रमेश कार्की, लुम्बिनी प्रदेशबाट प्रकाश पंगेनी, कर्णाली प्रदेशबाट प्रमोद हमाल, सुदूरपश्चिम प्रदेशबाट गणेश चन्द र उपत्यका विशेष प्रदेशबाट रमेश व्यन्जनकारलाई चयन गरिएको छ ।

बैठकले एन्फासँगको सहकार्यमा नेकोस फुटबल संघले फुटबलका विभिन्न खेल प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ ।