१४ बैशाख २०८१, शुक्रबार 1714194875
Banner

रामायणको अनुवादमा भानुको ठूलो योगदान : अध्यक्ष ओली (भिडियो)

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको सबैभन्दा ठूलो योगदान रामायणको नेपालीमा अनुवाद भएको बताउनुभएको छ ।

आदिकवि आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले नेपाली भाषामा सरलरूपमा साहित्य सिर्जना गरेर भानुले योगदान दिएको बताउनुभयो । उहाँले जतिसुकै विद्वता भए पनि जनमानसले बुझ्न सक्नेगरी नलेखिए त्यसको अर्थ नहुने बताउनुभयो । भानुभक्तका धेरै रचनाको सङ्कलन मोतीराम भट्टमार्फत भएको र मोतीरामले भानुभक्तलाई समीक्षात्मक दृष्टिले भन्दा पनि गुरुभक्तिको दृष्टिले हेरेकाले मोतीरामका रचना गुरुभक्तिवादबाट बढी निर्देशित पाइएको उहाँले उल्लेख गर्नुभयो । उहाँले ‘घाँसी’ कविता भानुभक्त आचार्यले नै वा मोतीराम भट्टले लेखेको भन्नेमा थप अध्ययन आवश्यक रहेको टिप्पणी गर्नुभयो ।

एमालेका केन्द्रीय संस्कृति विभागका प्रमुख रघुजी पन्तले भाषिक एकीकरणका लागि अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भाषाविद् डा जीवेन्द्रदेव गिरीले भानुको व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा कोमल वली, केशव भट्टराई, देवु लुइँटेल ज्ञानु विद्रोही, रत्नावली शर्मालगायतले रामायण वाचन गर्नुभएको थियो ।