७ बैशाख २०८१, शुक्रबार 1713524262
पर्यटन

भिक्षुको तीनमहिने वर्षावास लुम्बिनीमा सुरु

भिक्षुहरुको वर्षावास हिजोदेखि सुरु भएको छ । बौद्ध भिक्षुहरुले तीन महिनासम्म एकै ठाउँ बस्ने समय वर्षावास हो । बुद्धकालीन समयदेखि सुरु भएको वर्षावास बौद्ध विहार तथा गुम्बामा भिक्षु तीन महिनासम्म अधिष्ठान गर्ने गर्दछन् । असार महिनाको पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा छ । लुम्बिनीको राजकीय बुद्ध विहारमा आजदेखि भिक्षुहरुले वर्षावास सुरु गर्नुभएको छ ।

जुन बौद्ध परम्परा र विधि पनि हो । ‘बौद्ध भिक्षु तथा उपासक/उपासिका एकै ठाउँमा भेला हुने र बुद्ध दर्शनको अनुचरण गर्ने समय पनि वर्षावास हो । बुद्ध जन्मस्थल लुम्बिनीमा विभिन्न विहारमा भिक्षु वर्षावास बस्ने गरेको लुम्बिनी विकास कोषले जनाएको छ । वर्षाका कारण चारैतिर पानी पर्ने, जमिनभित्रका जीव तथा किरा बाहिर निस्कने हुँदा बाहिर हिँडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमा वर्षावास बस्ने गरेको लुम्बिनी विश्वविद्यालयका सहायक अनुसन्धान निर्देशक सुमन्तराज न्यौपानेले बताउनुभयो । वर्षावास भनेको भिक्षु तीन महिना एकै विहारमा बसेर अध्ययन एवं चिन्तन मनन गर्नु हो ।

सहायक अनुसन्धान निर्देशक न्यौपानेले भन्नुभयो, “अनेक त्याग, तपस्या र ध्यान विधिबाट बुद्धत्व प्राप्त गरेपछि भिक्षु वर्षावास बस्ने गर्नुहुन्छ ।” वर्षाका समयमा मानिस खेतीपातीमा लाग्नुपर्ने र भिक्षुहरु यताउता आवतजावत गर्न गाह्रो हुने तथा हिँडडुल गर्दा किराफट्याङ्ग्रा कुल्चने डर हुने भएकाले भगवान् बुद्धले वर्षावासको व्यवस्था गरेको बौद्ध भिक्षुहरु बताउँछन् । वर्षावासका समयमा विहारमा दैनिक धार्मिक गतिविधि सञ्चालन हुने भएकाले उपासक/उपासिका नियमितरूपमा विहार गई पञ्चशील ग्रहण गर्ने, साप्ताहिक उपोसध धर्मपालना गर्ने, ध्यान बस्ने, नियमित दान प्रदान गर्नुपर्दछ ।