२१ बैशाख २०८१, शुक्रबार 1714757330
अर्थ

२१ वर्षपछि ६६० भन्सार एजेन्ट छनाैट

काठमाडौं । भन्सार विभागले २१ वर्षपछि पहिलो पटक ६६० जना भन्सार एजेन्ट छनाैट गरेको छ । लिखितमा उर्तिण भएका आवेदकलाई अन्र्तवार्ताबाट उर्तिण गराएर विहीबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी ६६० जनालाई  छनाैट गरेको विभागले जनाएको छ । 

भन्सार एजेन्टको संख्या कम भएको भन्दै विभागले २०५७ साल पछि ६६० जना एजेन्टका लागि २०७७ चैत १६ गते आवेदन माग गरेको थियो । उक्त पदका लागि १० हजार बढीले आवेदन दिएका थिए । पटक पटक परीक्षा स्थगित हुँदै आएपनि विभागले दुई वर्ष पछि गत महिना परीक्षा सञ्चालन गरेको थियो । 

भन्सार नाका र व्यापारमा उल्लेख्य बृद्धि भएसँगै एजेन्टको संख्या न्युन भएपछि सरकारले ६६० जना भन्सार एजेन्ट थप गर्ने निर्णय गरी आवेदन गरेपनि विभागले छनौट प्रकृया अघि बढाएको थियो । 

समयक्रमसँगै भन्सार नाका र व्यापारमा उल्लेख्य बृद्धि हुँदा एजेन्ट थपिन सकेको थिएन । हाल ३८ मूल भन्सारमध्ये २८ वटा सञ्चालनमा छन् । निकासी र पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामका लागि निकासी–पैठारीकर्ताले भन्सार एजेन्ट राख्नु पर्ने व्यवस्था छ ।

२०५७ सालमा ५६ वटा एजेन्ट नियुक्ति भएयता कुनै पनि एजेन्ट नियुक्ति हुन सकेको थिएन । हालसम्म ४ सय ८१ जना भन्सार एजेन्ट नियुक्ति गरेको छ । यी मध्ये हाल १६९ जना भन्सार एजेन्टले मात्र अनुमतिपत्र नवीकरण गराएको विभागको तथ्याङक छ ।