१४ बैशाख २०८१, शुक्रबार 1714195727
समाज

सवारी लाइसेन्स वितरण बन्द

कोरोनाको तेस्रो लहर शुरु भएसँगै लाइसेन्स वितरणको काम बन्द छ भने छपाइको कामलाई तीव्रता दिइएको यातायात व्यवस्था विभागले जनाएको छ । वितरण गर्न रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामलाई तीव्रता दिइएको यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरेले बताउनुभयो । उहाँका अनुसार यातायात व्यवस्था विभागले लाइसेन्स कुरेर बसेका लाखौँ सर्वसाधारणले चाँडै कार्ड प्राप्त गर्ने गरी काम हुँदै आएको छ ।

‘त्यसका लागि दैनिक साढे छ हजार तीन सिफ्टमा छपाइको काम हुँदै आएको छ,’ महानिर्देशक घिमिरेले भन्नुभयो,‘अहिले तीन सिफ्टमा काम चलिरहेको छ, बिहान ७ देखि अर्को दिन ७ बजेसम्म काम चल्छ, तर बीचबीचमा खाली हुने हुनाले तीन सिफ्टमा दैनिक साढे छ हजारको हाराहारीमा स्मार्ट कार्ड प्रिन्ट भइरहेको छ ।’

उहाँका अनुसार प्रिन्ट सकिने बित्तिकै यातायात कार्यालयहरुमा स्मार्ट कार्ड पठाउने गरिएको छ । त्यहाँबाट वितरण हुन्छ । घिमिरेले भन्नुभयो,‘लामो समयदेखि प्रिन्ट भएको थिएन, अहिले प्रिन्ट भएको स्मार्ट कार्ड वितरण गरिँदै आएको छ ।’ नयाँ कार्ड आएपछि स्मार्ट लाइसेन्स प्रिन्टको काम शुरु भएको हो । नयाँ कार्ड आएपछि एक लाख कार्ड प्रिन्ट गरिएको छ । करिब चार लाख ५० हजार स्मार्ट लाइसेन्सको प्रिन्ट गर्न बाँकी थियो । तीमध्ये करिब एक लाख प्रिन्ट गरेर वितरणका लागि पठाइसकिएको छ ।

गत पुस २२ गतेदेखि स्मार्ट लाइसेन्सको प्रिन्ट गर्न शुरु गरिएको हो । प्रिन्ट शुरु गरिएदेखि हालसम्म एक लाखभन्दा बढी स्मार्ट लाइसेन्सको प्रिन्ट गरिएको महानिर्देशक घिमिरेले बताउनुभयो । उहाँका अनुसार दैनिक साढे छ हजारको दरले प्रिन्ट गरेर महिनाको एक लाख बढी कार्ड यातायात कार्यालयहरुमा पठाउने गरिएको छ । पछिल्लो समय १४ लाख कार्ड प्राप्त गरी त्यसको प्राविधिक परीक्षण सकिएसँगै विभागले कार्ड छपाइको कामलाई तीव्रता दिएको हो ।

कोरोना महामारीको तेस्रो लहर शुरु भएकाले माघ ११ गतेदेखि लाइसेन्स वितरण सेवा बन्द गरिएको छ । यातायात कार्यालय चावहिलका सूचना अधिकारी नवीना रिमालका अनुसार लाइसेन्स वितरणको काम अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको हो ।

सूचना अधिकारी रिमालले भन्नुभयो,‘ कोरोना महामारीमा भीडभाड बढी भयो, कोरोना फैलियो भनेर केही समयलाई लाइसेन्स वितरणको काम बन्द गरिएको छ ।’ लाइसेन्स छपाइ, फर्म भर्नेलगायतको काम हुँदैछ भने वितरणको काम बन्द छ ।

उहाँका अनुसार राजस्व तिरेको बिलले गाडी चलाउन पाइने हुन्छ । उहाँले भन्नुभयो,‘कार्ड नभए पनि राजस्व तिरेको बिलले गाडी चलाउन पाइन्छ, कार्ड नै चाहिँदैन ।’ कार्ड एक–दुई हप्ता नबाँड्दा फरक नपर्ला भनेर महामारीलई दृष्टिगत गरी वितरण सेवा बन्द गरिएको छ । कोभिडको अवस्था हेरेर वितरणको काम पुनः सुचारु गर्ने उहाँले बताउनुभयो । लाइसेन्स नभएकालाई एक हजार जरिवाना हुन्छ ट्राफिक प्रहरी कार्यालय बग्गीखानाका डिएसपी सन्तोष रोका भन्नुहुन्छ । राजस्व तिरेको बिल छ भने लाइसेन्सको काम गर्ने उहाँले बताउनुभयो ।