१८ बैशाख २०८१, मंगलवार 1714465917
Banner

हजारौँको भीडमा विश्वध्वजासहितको पचपन्न हात लामो लिङ्गो उठाइयो

भक्तपुर : भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो आज राति उठाइएको छ । स्थानीयले गःहिटीमा रहेको भैरब र भद्रकालीको रथलाई ल्यासिंखेलमा पुर्याएपछि हजारौँको भीडका बीचमा स्थानीयले करिब चार घण्टाको अथक प्रयासपछि लिङ्गो ठड्याइएको हो । पचपन्न हात लामो, नाङ्लो जत्रो फेद भएको लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी उठाइएको हो । लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा विश्व ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठवटा डोरीले तानेर उक्त लिङ्गो उठाइएको हो ।

त्यही आठवटा डोरीले आठ कुनामा कसेर लिङ्गो उठाइएको हो । लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाश भैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ । लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजाविधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको संस्कृतविद् श्यामकृष्ण श्रेष्ठ बताउनुहुन्छ । आज रातभरि र भोलि वैशाख १ गते दिनभरि लिङ्गोलाई भैरबको प्रतीक मानेर स्थानीयले बिहानैदेखि पूजा गरी बलि दिने गर्दछन् ।

दिनभर लिङ्गो जात्रा हेर्न देश विदेशका हजारौँ मानिसको भीड लाग्ने गर्दछ । वैशाख १ गते दिनभर जात्रा गरेर साँझ १० कर्म विधि एवं तान्त्रिक विधिअनुरुप पूजा गरेर लिङ्गो ढाल्ने गरिन्छ । यसअघि आज बिहान भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले हात नभएको लिङ्गो उठाएका छन् । यता मध्यपुर थिमिको महालक्ष्मी मन्दिर अगाडि पनि थिमिका बासिन्दाले आज बिहान लिङ्गो उठाएका छन् । यहाँ लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिको व्रत सुरु हुने र आगामी वैशाख २ गते जिब्रो छेडेपछि मात्रै व्रत समाप्त हुने परम्परा रहेको छ । रासस