४ जेष्ठ २०८१, शुक्रबार 1715981575
Banner

नयाँ वर्ष २०८१ शुभ रहोस् !

नयाँ वर्ष २०८१ आजबाट प्रारम्भ भएको छ । २०८० का उपलब्धिहरू पहिचान गर्ने, तिनीहरूलाई निरन्तर सदुपयोग गरिरहने, नयाँ उपलब्धिहरू प्राप्त गर्न नयाँ सोच, नयाँ उत्साह र जाँगरका साथ नयाँ योजनाहरूको रूपरेखा तयार पार्ने कामहरू नै नयाँ वर्षले हामीलाई दोहोर्याउने विषय हुन् ।

हाम्रो नयाँ वर्ष वैशाख १ गते प्रारम्भ हुने गर्दछ । यो मौसम परिवर्तनको समेत दिन हो । चैतको हुर्हुरे हावाले शुष्क पारेका वनस्पतिमा नयाँ पालुवा पलाउने, वन्य पङ्क्षीहरू गृह (गुँड) बनाउन र गृहस्थीको प्रारम्भ गर्ने, वर्षको पहिलो महिनाको पहिलो दिन हुने आदि अनेकौँ प्राकृतिक, सांस्कृतिक र पारम्परिक महत्त्वका हिसाबले पनि हामीले मनाउँदै आएको नयाँ वर्षको अहम् स्थान रहेको छ ।

नेपालमा राजनीतिक दृष्टिले यो वर्ष पनि त्यति उत्साह र उपलब्धिमूलक हुन सकेन । २०८० मा राजनीतिक दलका शिर्ष नेता गठबन्धन परिर्वतन कै एजेन्डालाई पहिलो प्राथमिकतामा राखे । गठबन्धन परिर्वतन र सत्ता केन्द्रित राजनीतिले जनता आजित बने । दलका नेताहरु कसरी गठबन्धन बलियो बनाउने र गठबन्धन बाहिर भएका नेताहरु गठबन्धन कसरी फुटाउने भन्ने बिषयमै तल्लिन रहे । नयाँ आस्था बोकेका राजनीतिक दलका नेताहरुपनि सिद्धान्त, विचार नमिल्ने दलसँग साँठगाँठ गरी सरकारमा सामेल हुने स्वार्थी प्रवृत्ति देखियो । लोकतन्त्र, प्रजातन्त्र, जनवाद, समाजवादको नारा लगाउने दलभित्रका केही व्यक्तिहरूले आफ्ना निहित स्वार्थ र सत्तालिप्साका कारण प्रदेशका संरचना त झनै ध्वस्त जस्तै देखिए । प्रदेशका मुख्य मन्त्रीको म्युजिकल चेयर अनि अल्पमतले नेतृत्व गर्ने गरी सरकार बनाइने क्रियाकलापले मतदाता आजित बने । दृष्टिकोण, सिद्धान्त, विचार, निष्ठाको राजनीति कमजोर देखियो । जनताको अभिमतको सम्मान हुन सकेन ।

त्यस्तै सहकारी हिनामिनाको बिषयले संसद् सुचारु हुन सकेन । संसद राजनीतिक प्रतिशोध उकाल्ने थलो बन्यो । आर्थिक, सामाजिक, राजनीतिक क्षेत्र अस्तव्यस्त बनिरहयो, नेताहरुले त्यसको बेवास्ता गरे । भ्रष्टाचारमा संलग्न ठुला भनिएका नेताहरुलाई पक्राउ गरि कारबाही गरियो भनेपनि त्यो खासै सन्तोषजनक देखिएन । कारबाहि गरे जस्तो गर्ने फेरि तिनै नेतालाई बचाए जस्तो गर्ने नेताहरुको नौटंकी प्रवृति देखियो । वातावरणमा बढ्दो प्रदूषण, राजनीतिमा बढ्दो अवसरवाद, उपभोग्य वस्तुमा बढ्दो मूल्यबृद्धि, सांस्कृतिक पुरातात्त्विक तथा ऐतिहासिक सम्पदा संरक्षणका क्षेत्रमा देखा परेको उदासीनता, सामाजिक विकृति, अराजकता र बढ्दै गएको बेरोजगारीले आम युवामा थप नैरास्यता बढेर गयो ।

तसर्थ नयाँ वर्ष हामीले वर्षभरि गरेका वा हामीबाट हुन बाँकी रहेका कामहरूको समीक्षा गरी नयाँ र सार्थक ढङ्गले अघि बढ्ने शुभ अवसर हो । समय खोला जस्तै हो, बगिसकेपछि पुनः फर्कँदैन । नयाँ वर्ष नयाँ सङ्कल्प, नयाँ योजना वा योजनाको नवीकरण, नयाँ उत्साहको अवसर हो । यसलाई सदुपयोग गर्न सकौँ । नयाँ वर्ष २०८१ सूचनाप्रेसका पाठक, विज्ञापनदाता, सहकर्मी, शुभेच्छुक तथा सम्पूर्ण नेपालीका लागि सुखद रहोस शुभकामना !!