३० बैशाख २०८१, आईतवार 1715508957
Banner

अन्य दललाई पनि सरकारमा आउन एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन अरु दलहरुलाई पनि आग्रह गरेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले पाँच दल सम्मिलित वर्तमान सरकारलाई साथ दिन अरु दलहरुलाई पनि आग्रह गर्ने निर्णय गरेको हो । बैठकपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताका निराशालाई आशामा बदल्नुपर्ने र मुलुकको हित र स्वाधिनताको रक्षा गर्नुपर्ने भएकाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा पाँच दल सम्मिलित सरकार गठन गरिएको भन्दै सरकारलाई साथ र समर्थनका लागि अरु दललाई अनुरोध गरेको बताए ।

यो सत्ता सहकार्य मुलुकको स्वाधिनता, विकास र समृद्धिको पक्षमा फलदायी हुने विश्वास राखेको पनि उनले बताए ।

महासचिव पोखरेलले एमालेको २९ औं सचिवालय बैठकले पार्टी स्थापनाको ७५ औं वर्षगाँठको अवसरमा वैशाख १० गते विशेष कार्यक्रम गर्ने जानकारी पनि गराए । वैशाख १० गते ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा ७५ औं पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको छ । त्यस्तै एमालेले वैशाख ८ र ९ गते बस्ने गरी महाधिवेशन प्रतिनिधि परिषद बैठक पनि बोलाएको छ। एमालेमा करिब २२ सय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य छन्।