२१ बैशाख २०८१, शुक्रबार 1714766506
कला/साहित्य

हरिवंश आचार्य भन्छन, ‘सामाजिक सञ्जालले पठन–संस्कृति कमजोर बन्दै छ’

काठमाडौँ — वरिष्ठ कलाकार हरिवंश आचार्यले सामाजिक सञ्जालले पठन संस्कृति कमजोर बनाउँदै लगेको टिप्पणी गरेका छन् । उनले साहित्यबिनाको समाज परिकल्पना गर्न नसकिने भन्दै आफ्नो भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नु हरेक जनप्रतिनिधिको दायित्व र कर्तव्य भएको बताए ।

शुक्रबार बूढानीलकण्ठ सांस्कृतिक साहित्यिक महोत्सव २०८० को उद्घाटन कार्यक्रममा आचार्यले सामाजिक सञ्जालले पठन संस्कृति कमजोर बन्दै गएको अवस्थामा भावी पुस्ताका लागि किताव र सस्कृतिको संरक्षण आवश्यक भएको बताए । पठन–संस्कृतिको जगेर्ना गर्न भावी पुस्तामा किताब संस्कृतिको महत्व बुझाउनुपर्ने उनको जोड थियो ।

महोत्सवमा कलाकार आचार्यद्वारा लेखक झमक घिमिरेलाई सम्मानसमेत गरिएको थियो। स्थानीय विषय, पहिचान र प्रतिनिधित्वलाई केन्द्रमा राखिएको महोत्सव उद्घाटनमा ७० जना जनप्रतिनिधि आफनै भेषभुषामा सजिएर सहभागी भएका थिए।

महोत्सवमा डा. भगवान कोइराला, डा.मधु दीक्षित, डा.शंकरमान राईले स्वास्थय रहन कसरी आफूलाई ध्यानमा राख्ने भन्ने बिषयमा चर्चा गरेका थिए ।

त्यस्तै देश कसरी बन्छ भन्ने बिषयमा लाक्पाफुटी शेर्पा, जीवन घिमिरे लगायतले चर्चा गरेका भने बुढानिलकण्ठ नगरपालिकालाई आहा नगरपालिका कसरी बनाउँनसकिन्छ भन्ने बिषयमा वडाअध्यक्षहरु रवि खड्का, सुमित्रा पाण्डे त्रिपाठी, टीका नारायण श्रेष्ठले चर्चा गरेका थिए ।

भोलिको कार्यक्रममा भुईँजसी, चौतारी, टिन एज टक, बस्तीको माया बस्तीको स्वाद, सेवारो, नागसाला, कठघरामा, महफिल लगायतका जम्मा १५ वटा सेसन छलफल हुने आयोजकले बताएको छ ।