१४ बैशाख २०८१, शुक्रबार 1714131208
Uncategorized

एमाले जिल्ला अधिवेशनः लुम्बिनीका आकांक्षीहरु दौडधूपमा (सूचीसहित)

बाँके- नेकपा एमालेले जिल्ला अधिवेशनको मिति तोकिसकेपछि जिल्लास्तरमा नेतृत्वका आकांक्षीहरु आफूले नेतृत्व लिन अभियान चलाउन थालेका छन । लुम्बिनीबाट पार्टीको पदाधिकारीमै ७ जना नेताहरु पुगेकाले जिल्लाहरुमा पनि पदाधिकारी निकटका नेताहरु नेतृत्वमा पुग्न दौडधुपमा लागेका हुन् ।

१२ जिल्ला रहेको लुम्बिनी प्रदेशका ११ जिल्लामा पुस २३ गते एकसाथ अधिवेशन हुँदैछ । रुकुम पूर्व हिमाली जिल्ला भएकाले पछि अधिवेशन गर्ने एमालेले जनाएको छ । अधिवेशनको मिति नजिकिँदै गर्दा जिल्लाका नेताहरु नेतृत्वमा आउन आफू निकटका नेतालाई भेटेर आफ्नो दावेदारी गरिरहेका छन् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, पोलिटब्युरो सदस्य लिला गिरी, खिमलाल भट्टराई, राधा ज्ञवाली, नेत्र पन्थीको गृह जिल्ला रुपन्देहीमा नेतृत्वका लागि आधा दर्जनभन्दा बढी आकांक्षी देखिएका छन । हालका जिल्ला अध्यक्ष शिवराज सुवेदी दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइसकेपछि अन्य नेताहरु नेतृत्वका लागि दौडधुपमा लागेका हुन । रुपन्देहीमा अध्यक्षको लागि जिल्ला उपाध्यक्ष पुरुषोत्तम घिमिरे, तेजेन्द्र केसी बासुदेव घिमिरे, बलबहादुर आचार्य, यज्ञ गैरे, हितराज पन्थीले दावी गर्नुभएको छ ।

यस्तै बाँकेमा भने आधा दर्जन अध्यक्षका आकांक्षी देखिएका छन । बाँके अध्यक्षका लागि पत्रकारसमेत रहनुभएका बौद्धिक नेता डिल्ली विसीसहित रत्न खत्री, किस्मत कक्षपति, निरक गुरुङ, घननाथ खनाल, सतिस निरौला अध्यक्षको दावी गर्नुभएको छ । यस्तै कपिलवस्तुको आगामी नेतृत्वका लागि ४ जना मैदानमा आएका छन् । अध्यक्षका लागि पूर्वउपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य डम्मर शर्मा, वर्तमान उपाध्यक्ष बाबुराम खनाल, प्रदेश सदस्य खुमप्रसाद आचार्य, शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले दावी गर्नुभएको छ ।

एकमात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा अध्यक्षमा प्रदेश कमिटी सदस्य पिताम्बर भुसाल र हालका जिल्ला उपाध्यक्ष जीवनारायण कोइराला बलिया दावेदार हुनुहुन्छ । एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण बिष्टको गृहजिल्ला गुल्मीमा भने एक जना मात्रै दावेदार हुनुहुन्छ । हालका उपाध्यक्ष बालसिंह काउछा अध्यक्षका एक्लो दावेदार देखिनुभएको हो ।

प्रदेशको स्थायी राजधानी रहेको दाङ जिल्लामा पनि हालका जिल्ला उपाध्यक्ष हुकुम बस्नेत एकमात्र जिल्ला अध्यक्षका दावेदार रहेको उनी निकट नेताहरुले बताएका छन् । हालका जिल्ला अध्यक्ष टिकाराम खड्का नदोहोरिने भएपछि स्वभाविक रुपमा अध्यक्षमा आफ्नो दावेदारी भएको बस्नेतले बताउनु भएको छ । लुम्बिनीको पश्चिमी जिल्ला बर्दियामा २ जना अध्यक्षमा आकांक्षी देखिएका छन् । बासगढी नगरपालिकाका प्रमुखसमेत रहेका शालिकराम अधिकारी र बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ अध्यक्षका आकांक्षी देखिनुभएको हो ।

पाल्पामा भने अध्यक्षका आधा दर्जन आकांक्षी छन् । जिल्लाको रिव्दीकोट गाउँपालिकाका अध्यक्षसमेत रहेका नारायणबहादुर जिसी, जिल्लाका पूर्व पार्टी सचिव देवीप्रसाद बस्याल, तिनाउ गाउँपालिकाका प्रमुख रहेका हालका जिल्ला सचिव ओमबहादुर घर्ती, संविधान सभा सदस्य तारामणी घिमिरे पनि अध्यक्षका आकांक्षी हुनुहुन्छ । पश्चिमनवलपरासीमा दीपेन्द्र अधिकारी र थामप्रसाद गैरेले अध्यक्षमा आउन आकांक्षा देखाउनु भएको छ । प्युठानमा भने हालका जिल्ला अध्यक्ष नै दोहोरिने लगभग पक्काजस्तै भएको छ । हालका अध्यक्ष तुल्सीराम शर्मा अध्यक्षमा दोहोरिने गरी सहमति हुन लागेको बताइएको छ ।

त्यस्तै रोल्पामा हालका अध्यक्ष बालराम बुढा नेतृत्वमा दोहोरिन चाहनुभएको छ । रुन्टीगढी गाउँपालिका अध्यक्षसमेत रहेका बुढा जिल्लामा सर्वसम्मत नेतृत्व चुन्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो । पूर्वीरुकुमको भने जिल्ला अधिबेशन पुसमा नहुने भएको छ । रुकुम पूर्व हिमाली जिल्ला भएकाले प्रदेश अधिबेशनपछि मात्र जिल्ला अधिबेशनको टुंगो लाग्ने एमाले रुकुम पूर्वका जिल्ला अध्यक्ष टोपबहादुर ओलीले जानकारी दिनुभयो ।