१४ बैशाख २०८१, शुक्रबार 1714175647
राजनीति

मोरङका तीन पालिका प्रमुखका लागि सर्वसम्मत नाम सिफारिश

विराटनगर । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि नेकपा एमालेले मोरङका तीन पालिका प्रमुखका लागि सर्वसम्मत नाम सिफारिश गरेको छ। २ गाउँपालिका र एक नगरपालिकामा एमालेले १र१ जनाको नाम सर्वसम्मत सिफारिश गरेको हो।

रंगेली नगरपालिकामा माओवादीबाट केही दिनअघि एमाले प्रवेश गरेका मेयर दिलीप अग्रवाललाई एमालेले मेयरको उम्मेदवार बनाउने भएको छ। बहालवाला उपमेयर केशवकुमारी खराल, उषा झा र भूमा पराजुलीको नाम सिफारिश भएको एमाले रंगेली नगर कमिटीले जनाएको छ।

मेयर अग्रवाल र उपमेयर खराल दुवै अघिल्लो चुनावमा माओवादीबाट विजयी भएका हुन्। उनीहरूलाई केही दिनअघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए।

धनपालथान गाउँपालिकाको प्रमुखमा मुसहरु मण्डलको नाम मात्रै सिफारिश भएको छ। उपाध्यक्षमा भने करणदेवी चौधरी, उपासी देवी राजवशी, सीता पाठक, विमला विष्ट, राधादेवी पासवानको नाम सिफारिश गरिएको एमाले गाउँ कमिटीले जनाएको छ।

जहदा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा १र१ जनाको नाम सिफारिश गरिएको छ। अध्यक्षमा कृष्ण गिरी र उपाध्यक्षमा अनिता सोरेनको नाम सिफारिश गरिएको हो।