१६ बैशाख २०८१, आईतवार 1714300132
Banner

उद्घाटन भईसकेको भवन पुनःउद्घाटन गर्न खोज्दा गोदावरी नगरपालिकामा तनाव

धनगढी । कैलालीको गोदावरी नगरपालिका प्रशासनिक भवन उद्घाटनको बिषयलाई लिएर तनाव सृजना भएको छ । गोदावरी नगरपालिकाले नवनवनिर्मित प्रशासनिक भवनको उद्घाटन कार्यक्रमको मिति सार्वजनिक गरेपछि दलहरु बीच विवाद उत्पन्न भएको हो । 

नेकपा एमाले गोदावरी नगर कमिटीले दुई बर्ष अघि नै प्रशासनिक भवनको उद्घाटन भएकाले पुनः भवन उद्घाटन गर्न नहुने भन्दै बिरोध जनाएको हो । नगरपालिकाले भने उद्घाटन गरिसकेको भवनको माघ ४ गते  फेरी उद्घाटनका तयारी अघि बढाएपछि  एमाले नेता कार्यकर्ताले नगरपालिका घेराउ गरेका हुन् । 

नेकपा एमालेबाट निर्वाचित तत्कालिन मेयर हरिसिंह साउदले २०७८ चैत्रमा नगरपालिका भवनको उद्घाटन गर्नु भएको थियो । काँग्रेसबाट निर्वाचित नगर प्रमुख विरेन्द्र भट्टले आज फेरी भवन उद्घाटन गर्ने कार्यक्रम तय गरेपछि विवाद भएको हो  ।  

प्रशासनिक भवन पुनः उद्घाटन गर्ने काम अलोकतान्त्रिक भएको भन्दै विरोधमा उत्रिएकाे नेकपा एमालेले हातमा कालो रिबनसहित कार्यकर्ता नारा जुलुसमा उतारेकाे हाे  । एमाले नगर कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष सिंहले बल प्रयोग गरी भवन उद्घाटन गरिए त्यसपछि आउन सक्ने गम्भीर परिस्थितिको जिम्मेवारी नगरप्रमुखले लिनुपर्ने बताउनुभयो ।

एसियाली विकास बैंक (एडीबी)को १३ करोड ४६ लाख १ हजार ४३ रुपियाँ ऋण सहयोगमा क्षेत्रीय सहरी विकास कार्यालय धनगढीले  गोदावरी नगरपालिका कार्यालयको भवन निर्माण गरेकाे हाे ।