२६ बैशाख २०८१, बुधबार 1715181494
Banner

केकभित्र गाँजा राखेर अनलाइनमार्फत  बिक्री गर्ने युवक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले केकभित्र गाँजा राखेर बिक्री वितरण गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले केकमा लागुऔषध गाँजा मिसाइ अनलाइनमार्फत कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नं २९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक चक्रराज जोशीले केकभित्र गाँजा राखेर अनलाइनमार्फत कारोबार गरेको आरोपमा मानन्धरलाई पक्राउ गरिएको जानकारी दिनुभयो । “इन्स्टाग्राममा अकाउन्ट बनाएर त्यसमार्फत मानन्धरले ती केक बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुलेको छ,” उहाँले भन्नुभयो ।

प्रहरीले पक्राउ मानन्धरसँग गाँजाको धुलो एक सय २१ ग्राम, तयारी अवस्थाको केकको झोला एक सय ७८ ग्राम, गाँजा तीन किलोग्राम बरामद गरेको छ । मानन्धरले विगत एक वर्षदेखि यसरी केक बनाएर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ ।

पक्राउ मानन्धरलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता जोशीले बताउनुभयो ।