३१ बैशाख २०८१, सोमबार 1715580091
समाचार

नक्कली फेसबुक आइडी बनाई फिरौती माग्ने तीन विद्यार्थी पक्राउ 

चितवन । फेसबुकमा नक्कली आइडी बनाएर फिरौती रकम मागेको आरोपमा कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनमा अध्ययनरत तीन विद्यार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा  रत्ननगर नगरपालिका –१३ का २० वर्षका प्रवेश रिमाल, सिराहाको लाहान नगरपालिका– १का  १९ वर्षका युनिक सिंह र पोखरा महानगरपालिका –२९ का २२ वर्षीय अनुराग घिमिरे रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरूले फेसबुकमा महिलाको फेक आइडी बनाइ महिलाकै आवाज निकालेर च्याट गर्ने, अश्लील भिडियो पठाउने गरी चितवनका दुई पुरुष र कास्कीका एक महिलासँग ब्ल्याक मेलिङ्ग गरी फिरौती रकम मागेको थिए ।

भिडियो कल रेकर्ड र फिरौती रकम मागेको प्रवृत्ति हेर्दा यो समूहमा अरू पनि सहभागी हुनसक्ने आशङ्का प्रहरीको छ ।  तीन जना विद्यार्थीले उनीहरुसंँग दुईदेखि चार लाख रुपैयाँसम्म फिरौती रकम मागेका थिए ।

उक्त रकम नदिए भिडियो सार्वजनिक गर्ने धम्की दिएको फोन रेकर्ड रहेको कार्यालयका डिएसपी पण्डितले जानकारी दिनुभयो  । 

उनीहरू तीनै जनालाई कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरबाट प्रहरीले बिहीबार पक्राउ गरेको हो । उनीहरूको साथबाट फिरौती लिएको ७६ हजार रुपियाँ र ४ थान मोबाइल सेट पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।