२३ बैशाख २०८१, आईतवार 1714945749
Banner

हाम्रो मनस्थिति र देशको परिस्थिति

देश समृद्ध बनाउने पहिलो आधार नागरिक र नेतृत्वको सकारात्मक मनस्थिति र रचनात्मक गतिविधिहरू नै हुन्। हाम्रो मनस्थिति र गतिविधिहरू ठीक भयो भने देशको परिस्थिति सकारात्मक बन्न थाल्नेछ भन्ने ज्ञान हामीमा हुनुपर्छ। अहिले हाम्रो यही ज्ञानको अभावलाई उपयोग गरेर लोकरिझ्याईंको राजनीतिले आफ्नो गतिविधि अघि बढाईरहेका छन्। तर हामीले बुझेनौं, लोकरिझ्याईंको राजनीतिले जनता समस्यामा पर्छन् भने देश सामाजिक, आर्थिक र राजनीतिक रूपमा कमजोर भइ कुटनीतिक रूपमा पनि कमजोर हुनेछ। जनताले यो सत्य नबुझ्दासम्म लोकरिझ्याईंको राजनीतिले लोकप्रिय भएको ठानिरहेको हुन्छ।

लोकप्रियतावादी चेतनाले नकारात्मक बेच्छ, सकारात्मक भन्दैन् र देख्दैन्। रचनात्मक नहुनु उसको चरित्र नै हो। जनतालाई भावनात्मक रूपमा भड्काउन भ्रमको खेती अर्थात राजनीति गरिरहन्छ। लोकप्रियतावादको राजनीतिक विचार हुँदैन्, जनतामा वितृष्णालाई उसले राजनीतिक आधार बनाउँछ। तर जनतालाई यसका बारेमा सुसूचित गर्न सञ्चार माध्यमले पनि चाहेको छैन् किनभने सञ्चार जगत पनि नकारात्मक बेचेर आफ्नो व्यवसाय चलाउने दृष्टिकोणबाट निर्देशित भइरहेको छ।

लोकप्रियतावादलाई लिएर भ्लादिमिर पुटिनले भनेका छन्, “राजनीतिक लोकप्रियतावादले सधैं ठूलो खतरा खडा गर्छ किनभने यसले मानिसहरूलाई अलमलमा पार्छ, अत्यधिक अपेक्षाहरू सिर्जना गर्दछ वा यसको विपरीत, स्पष्ट रूपमा प्राथमिकताहरू नभएका वा हासिल गर्न असम्भव भएका उद्देश्यहरूलाई प्राथमिकता दिन्छ।” नेपालमा पनि अहिले त्यही लोकप्रियतावादले जनतालाई भ्रमित बनाउने र भावनात्मक रूपमा भड्काउने काम गरिरहेको छ। भोलि यसले ल्याउने परिणाम पिडादायी हुनसक्छ भन्ने कुरा हामीले हेक्का राख्न सक्नुपर्छ। त्यसमाथि अहिले कम्फर्टेबलवादले गरेका गतिविधिहरूले जनता वितृष्णा बढ्दा लोकप्रियतावादको मनोबल बढेको छ।

लोकप्रियतावाद र कम्फर्टेबलवादले छरेको शब्द जाललाई बुझेर, त्यसबाट जोगिनु र जोगाउनु पर्ने चुनौती थपिएको छ। त्यसैले ।।।

हिजो क्रान्ति भनेर झुक्याए,

आज समाजवाद भनेर झुक्याउँदै छन्,

अब त आँखा खोलौ,

झुक्याउनेहरूलाई चिनौं।१।

हिजो क्रान्तिले के के पो गरेन,

हत्याहिंसा र ध्वंस मच्चायो,

थातथलो छोड्नु पर्ने बनायो,

माफियागिरी अति मौलायो।२।

खेतबारी बाँझो बनायो,

प्लटिङलाई सघायो,

परनिर्भरता अति बढायो,

लोकप्रियतावादको मनोबल बढायो।३।

यसर्थ हामीले बुझ्नुपर्छ, असल पात्र र प्रवृत्तिले पद खोज्दैन्। भ्रमलाई आफ्नो प्रगतिको आधार बनाउँदैन्। लोकप्रिय बन्न भ्रमको राजनीति गर्दैन्। राजनीतिक विचारको आधारमा बोल्छ, नीति र कार्यक्रमको जगमा राजनीति गर्छ। तर कम्फर्टेबलवाद र लोकप्रियतावाद पदमा पुग्न र शक्तिको उपयोग गर्न जनतालाई भ्रमित बनाएर आफू बलियो हुन खोज्छ। यो सन्दर्भलाई लिएर ताओ र जेनले भनेका छन्, “नेतृत्व र शक्तिसँग भ्रमित नहुनु होस्। बौद्धिक तथा ज्ञानीहरूलाई नेतृत्व गर्न शक्ति चाहिँदैन्।” हिजोआज कम्फर्टेबलवादी र लोकप्रियतावादीहरू भ्रमको साहारा र मूर्ख्याईको बलमा सत्ता शक्तिमा पुग्ने अभियानमा देखिन्छन्। त्यसैले त उनीहरू जनता अलमल्याउने र भावनात्मक रूपमा भड्काउने राजनीतिमा व्यस्त देखिएका छन्।

देश राम्रो अर्थात समृद्ध बनाउन हामी आमनागरिकको मनस्थिति सधैं सकारात्मक र हाम्रा व्यवहार तथा अभ्यासहरू रचननात्मक हुनुपर्छ। मतलब देशको परिस्थिति सकारात्मक बनाउने दृष्टिकोणका साथ हामीले हाम्रा क्षमता र प्रभावहरू प्रयोग गर्न सक्नुपर्छ। यो नै असल नागरिक भएको प्रमाण हो भनेर बुझ्नुपर्छ। आज हामीलाई नकारात्मक बनाउने र देश परिस्थिति निसाराजनक देखाउने अभियान नै चलेको छ। जसको नेतृत्व कम्फर्टेबलवाद अर्थात नवउदारवाद र उपयोगितावाद अनि लोकप्रियतावादका मुखियाहरूले गरिरहेका छन्। ति मुखियाहरू हामी सबैले चिनेकै छौं। उनीहरू लक्ष्य नेपाललाई कमजोर र अस्थिर बनाएर नेपालमा नियन्त्रित अस्थिरता बढाउने हो।

देशको परिस्थिति असल बनाउने मुख्य आधार हामी जनताको सकारात्मक मनस्थिति नै हो। जबसम्म हाम्रा मनस्थिति सकारात्मक र रचनात्मक बन्दैन् तबसम्म देशको परिस्थिति सकारात्मक र आसावादी बन्दैन् भन्ने चेत हामी नागरिकदेखि लिएर नेतृत्वमा आउनु पर्छ। अन्यथा कम्फर्टेबलवाद अर्थात नवउदारवाद र उपयोगितावाद अनि लोकप्रियतावादबाट देश पीडित भइरहन्छ।

कम्फर्टेबलवाद अर्थात नवउदारवाद र उपयोगितावाद अनि लोकप्रियतावाद सधैं देशका लागि खतरा हुन्छ। कहिले यो चरम वामपन्थी भएर देखापर्छ त कहिले चरम दक्षिणपन्थी अनि कहिले चरम राष्ट्रवादी भएर प्रस्तुत हुन्छ। उनीहरूका बोली र व्यवहारले सधैं जनतालाई झुक्याउने लक्ष्य लिएको हुन्छ किनभने उनीहरू चरित्र पनि त्यस्तै हुन्छ। यसका बारेमा बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरको भनाई बढी सान्दर्भिक देखिन्छ। ब्लेर भन्छन्, “समस्या यो हो कि त्यहाँ दुबै बायाँ र टाढा दायाँमा केही लोकप्रियतावाद छन्, जसले भ्रमपूर्ण हल्ला गर्न त सक्छ तर दिगो नीति बनाउन सक्दैन। धेरै महत्त्वपूर्ण र गम्भीर मुद्दाहरूमा आफ्ना धारणा दिन सक्दैन्। तर सरल समाधानको हल्ला गरेर जनता झुक्याउन भने सक्छन्।” अहिले नेपालको राजनीतिमा त्यस्तै भइरहेको छ।

अन्तमा हामीले बुझ्न सक्नुपर्छ, लोकप्रियतावाद एउटा त्यस्तो राजनीतिक नारा हो, जसले आम जनसाधारणलाई उनीहरूका समस्याहरू समाधान र अपेक्षाहरू पूरा गर्ने आधारहीन तर्क गर्छ, स्वछद र अराजक भएर प्रस्तुत हुन्छ अनि पुरानाजति सबै खराब भनेर आफूलाई असल र अब्बल देखाउने प्रयास गरिरहेको हुन्छ। जबकि उसमा न वैचारिक धरातल हुन्छ न त नैतिकता र चरित्र नै। यसले अन्ततः देशलाई जेलेन्स्की पथमा लैजानेछ। त्यसैले कम्फर्टेबलवाद र लोकप्रियतावादबाट राजनीतिलाई जोगाउँदै देश समृद्ध र नागरिक खुसी बनाउने राजनीतिको पक्षमा हामी उभिन सक्नुपर्छ। अनिमात्र लोकतान्त्रिक गणतन्त्रलाई परिपूर्ण बनाउन सकिन्छ।