१७ बैशाख २०८१, सोमबार 1714401978
Banner

सौन्दर्य व्यवसायमा जुनु चक्रधरको लोभलाग्दो जोडी

२१ वर्षअघि ‘जुम ब्युटिपार्लर’ बाट सुरु भएको सौन्दर्य व्यवसाय यतिबेला ‘जुम ब्युटी एकेडेमी’ मा रुपान्तरण भएको छ । जुनु चक्रधरले भक्तपुरको नयाँ ठिमीमा रहेको एउटा सानो सटर भाडामा लिएर सुरुवात भएको जुम ब्युटिपर्लरका अहिलेसम्म १२ वटा शाखा बिस्तार भइसकेका छन् । २५ हजार लगानीबाट सुरु भएको जुनुको सौन्दर्य व्यवसायले आज लाखौँ भाडा तिर्छ ।

व्यवसाय सुरुवात गर्दा सटर चलाउने मात्रै सपना रहेको बताउने जुनु त्यसबेला सौन्दर्य व्यवसायको पनि सीप सिकाइन्छ भन्ने सोच्दै नसोचको बताइन् । उनले भनिन्, ‘सुरुवातमा सिकाउने भन्ने योजना थिएन । हाल दैनिक १२ सय जनाले तालिम लिइरहेका छन भने एक सय ३० भन्दा बढि प्रशिक्षक छन् । आर्थिक जोहो नगरीकन सुरुवात गरिएको व्यवसायबाट यति धेरै उपलब्धि होला भनेर सुरुवाती चरणमा उनले कल्पना पनि गरेकी थिइनन् । जुमकी सिईओ जुनु भन्छिन, ‘एकेडेमीले हजारौं विद्यार्थीलाई सक्षम र क्षमतावान बनाएको छ, कैयौंलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गरेर महिलाशशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्नुका साथै हाल एक सय ४० जनालाई रोजगारी दिन सफल पनि भएका छौ ।’

सुरुवातमा ब्युटी पार्लर पेसालाई इज्जतदार पेशाको रुपमा नलिइने भएकाले यस पेसामा आउन जुनुलाई पनि केही हच्किनु परेको थियो । तर, सानोमा अरुलाई राम्रो बनाउँदा आनन्दा लाग्ने भएकाले अन्त्यमा उनले यही व्यवसाय अंगालिन् । ‘मलाई यही पेसा मन पथ्र्यो । त्यस बेलाको समयमा एसएलसी फेल भएर, केही काम भएन भने मात्रै पार्लरको व्यवसाय गर्थे । त्यहीँ भएर यो व्यवसाय सुरु गर्दा परिवारका सबै सदस्य मप्रति रुष्ट थिए । तिमीजस्तो पढेको मानिसले किन पार्लर व्यवसाय गर्दछौं भनी प्रश्न पनि गर्थे । तर, मलाई यो फिल्ड रमाइलो लाग्यो र यसैलाई निरन्तरता दिदै गए अहिले यही पेशाले मलाई सबैमाझ चिनाएको छ ।’ जुनुले भनिन् ।

त्यसो त जुनुलाई सफल बनाउनमा उनको श्रीमानको पनि त्यतिकै हात छ । श्रीमान् क्रिशप त्वायनाबासुले जुनुले अगाडी बढाएको जुम ब्युटी एकेडेमीलाई पाईला पाईलामा साथ दिदै आएका छन् । जुम एकेडेमीका निर्देशक त्वायनाबासुले प्रशिक्षार्थीहरुलाई जिरो लेभलबाट सिकाउने गरेको बताए । कुनैपनि व्यवसायमा सफल हुन सटकट बाटो नभएको बताउँदै उनले भने्, ‘हाइजम्प गरेर छलाङ्ग मारेर व्यवसाय या कुनै काममा सफल हुन सकिँदैन । त्यसैले टिममा काम गरिरहेका छौ, धेरै नै मेहनत गरेका छौ ।’

नेपालको कुना–कुनासम्म गएर सौन्दर्यको व्यवसाय फैलाउने उनीहरुको योजना छ । नेपालमा केही गर्न सकिँदैन भनेर विदेश जाने दाजुभाई दिदी बहिनीलाई उनिहरु व्यवसायका लागि नेपाल एकदमै राम्रो देश भएको बताउँछन् । ‘हामी नेपालबाहिर जाँदा दिनको १८ घण्टा काम गर्नसक्ने अनि नेपालमा बसेर १२ घण्टा काम गर्न गाह्रो मान्ने प्रवृत्ति छ । हामी ६ घण्टा काम गर्छौँ । त्यो पनि घाम तापेर या अन्य कुनैमा समय बिताइरहेका हुन्छौ यसरी देशको विकास कहाँ हुन्छ त ?’ जुनुले थपिन । विदेशमा जस्तो नेपालमा नि खटिएर काम गर्ने हो भने राम्रा राम्रा अवसर यहि भएको उनको भनाइ छ ।

१९ वर्षको उमेरदेखि सौन्दर्य व्यवसायमा नै सक्रिय जुनुको जोडीले डिसेम्बरको पहिलो हप्ता जापानमा हुने एसियाभरिको परमानेन्ट मेकअफको प्रतिस्पर्धामा सहभागि हुने अवसर पाएको छ । यति ठुलो प्रतिस्पर्धामा जुनु जज तथा बक्ताको रुपमा सहभागि हुँदैछन् । नेपालको प्रतिनिधित्व गर्दै विदेशी कार्यक्रममा सहभागिता जनाउँदा नेपाल सरकारले पनि ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ । सौन्दर्यको क्षेत्रमा नेपालको स्थापित ब्रान्ड बनाउँदै जुम ब्यूटी एकेडेमीले पछिल्लो १२ औं शाखा कौशलटारमा खोलेको छ ।

जुमले हालसम्म कुपन्डोल, भक्तपुर, महाराजगञ्ज, कलंकी, तीनकुने, बौद्ध, बनेपा, गोंगबु, बालाजु, ग्वार्को, स्वयम्भूमा पनि शाखा सञ्चालन गरिसकेको छ। भूकम्प र कोराना कहरलगायत थुप्रै उतारचढाव आएपनि दिनरातको मेहनतले यस जोडीे २१ वर्षमा आईपुग्दा सफल ब्यवसायी बनेका छन । थोरै लगानीबाट धेरै आम्दानी गर्न सफल यो जोडी अरुका लागि पनि प्रेरणाको स्रोत बनेका छन् ।