२१ बैशाख २०८१, शुक्रबार 1714747847
Banner

गाजा क्षेत्रमा युद्ध जारी : इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी, गाजामा ४१३ जनाको मृत्यु

काठमाडौं । प्यालेष्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको मृत्यु भएपछि इजरायलको मन्त्रीपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ । हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको मृत्यु भएको छ ।

Palestinian gunmen lie on the road near Sderot, Israel, on Saturday, Oct. 7, 2023. Palestinian militants from the Gaza Strip infiltrated southern Israel Saturday and fired thousands of rockets into the country, prompting Israel to begin striking targets in Gaza in response. (AP Photo/Ohad Zwigenberg)

इजरायली भूमिमा हमास लडाकू र इजरायली सैनिकबीच भिडन्त भइरहेका बेला इजरायली सेनाले आइतबार पनि गाजाका विभिन्न स्थानमा हवाई आक्रमण जारी राखेको छ । हमासका प्रवक्ता डेनियल हागारीका अनुसार हमासका लडाकूले आइतबार साँझ दक्षिणी इजरायलका विभिन्न समुदायमालाई आफ्नो नियन्त्रणमा लिएको छ भने इजरायली रक्षा बल (आइडीएफ) का सैनिकसँग झडप भएको छ । इजरायली उद्धार सेवा जाकाले एक विज्ञप्ति जारी गर्दै गाजा–इजरायलको बाड नजिकैको ग्रामीण कृषि क्षेत्रमा एक सङ्गीत कार्यक्रम (नोभा फेस्टिभल) मा पार्टी गरिरहेका करिब २६० जना युवती र पुरुषको अवशेष सङ्कलन गरिएको जनाएको छ ।

आइतबार राति पनि महोत्सवमा सहभागी धेरै जना हराइरहेका थिए । हमासले इजरायलमा हजारौं रकेट प्रहार सहितको विशाल आक्रमणमा उक्त कार्यक्रमसहितका यस क्षेत्रका अन्य स्थानहरूमा आक्रमण गरेपछि सामाजिक सञ्जालहरूमार्फत आफ्ना नातेदार र साथीहरूलाई खोज्ने अभियान चलाएका छन् । यसैबीच, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इजरायली सेना र हमासका लडाकुबीच बढ्दो द्वन्द्वबीच पेन्टागनले पूर्वी भूमध्यसागरीय क्षेत्रमा इजरायललाई समर्थन गर्न युद्धपोत र लडाकू विमान पठाउन लागेको बताउनुभउको छ ।

अस्टिनले एक विज्ञप्ति जारी गर्दै ‘युएसएस जेराल्ड आर फोर्ड क्यारियर स्ट्राइक ग्रुप’को पूर्वी भूमध्यसागरीय क्षेत्रमा एक विमानवाहक पोत, एक गाइडेड मिसाइल क्रुजर र चार गाइडेड मिसाइल विध्वंसकको आवागमनलाई निर्देशन दिएको बताएका छन् । पेन्टागनले यस क्षेत्रमा अमेरिकी वायु सेनाको एफ–३५, एफ–१५, एफ–१६ र ए–१० लडाकू विमान स्क्वाड्रनको विस्तारका लागि पनि कदम चालेको छ । उहाँले अमेरिकी सरकारले इजरायली रक्षा बललाई युद्धसामग्रीलगायत थप उपकरण र स्रोत साधन द्रूत गतिमा उपलब्ध गराउने बताउनुभयो । एजेन्सी