१५ बैशाख २०८१, शनिबार 1714199360
Banner

व्यवसायीमाथि राज्य आतङ्क भएको बतास समुहको आरोप

काठमाडौं । बतास समूहले राज्य आतंकमार्फत व्यवसायीलाई हतोत्साहित बनाउने काम भएको जनाएको छ । समूहले पशुपति क्षेत्र विकास कोष र मन्त्रीले राज्यशक्तिको दुरुपयोग गर्दै व्यवसायीलाई हतोत्साही बनाएको जनाएको छ ।

नेपाल–भारत मैत्री पशुपति धर्मशाला सम्बन्धमा बतास समूहका तर्फबाट विज्ञप्ति जारी गर्दै अध्यक्ष आनन्द राज बतासले राज्यको जिम्मेवार तहबाट नै गैरकानुनी तथा स्थापित विधि, विधान, ऐन, नियम र प्रचलन विपरित हुने खालका असामान्य क्रियाकलापसमेत हुँदै आएको जनाएका छन् । यससमूह अन्तर्गत रहेको होटल आनन्द प्रा. लि.ले कानुन बमोजिम पशुपति क्षेत्र विकास कोषसँग २०७६ साल वैशाख ३० गते होटलस्तरमा धर्मशाला सञ्चालन गर्ने सम्झौता भएको बताइएको छ । सोही अनुरूप सञ्चालन गर्दै सहमति र स्वीकृति भए बमोजिम २५ करोडभन्दा माथि लगानी गरी होटल सञ्चालन भएको उनले जनाएका छन् ।

“कोरोना महामारीका कारण होटल ब्यवासाय धराशायी भएको समयमा समेत २०७९ वैशाख मसान्तसम्मको सम्झौता बमोजिमको बहाल रकम बुझाइसकेको तथ्यसमेत निर्विवाद रहेको छ । यही पृष्ठभूमीमा २०७८ चैत १७ गते नेपाल–भारत मैत्री पशुपति धर्मशालाको प्राङ्गणमा जिम्मेवार सरकारी निकायबाट भएको आपत्तिजनक गतिविधिले नेपालको कानुनी शासनको नै धज्जी उडाउने, धर्मशालामा आश्रय लिइरहेका धर्मावलम्बीलाई त्रसित पार्ने काम भएको छ,” जारी विज्ञप्तिीा भनिएको छ, “प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको पूर्वसन्ध्यामा भारत सरकारको सहयोगमा निर्मित धर्मशालालाई केन्द्रमा राखेर वितण्डा मच्चाउने काम गर्दै नेपाल–भारत सम्बन्धमा नै खलल पुर्याउन उद्धत हुने, आम नेपाली व्यवसायीलाई राज्य आतंकमार्फत हतोत्साहित गर्ने र नेपालको पर्यटन क्षेत्रलाई नै गम्भीर असर पुग्ने गरी विदेशी पाउनालाई असुरक्षित महसुस गराउने काम भएको छ ।”

राज्य शक्तिको दुरुपयोग गर्दै नेपाल–भारत मैत्री पशुपति धर्मशालाका सम्बन्धमा आम नागरिकलाई भ्रममा राख्ने कामलाई भने पशुपति विकास कोष र जिम्मेवार मन्त्रीबाट जारी नै रहेकोसमेत उनले जनाएका छन् । त्यसैले पछिल्ला दिनमा विकसित घटनाक्रमको विवरण सार्वजनिक गर्न र यसअघि राज्यपक्षबाट प्रेषित भ्रामक सूचना र समाचारबाट आम नागरिक र सरोकारवालामा उत्पन्न भएको आशंकको अन्त्य गर्न सत्य, तथ्य र प्रमाणहरू समेत समूहले सार्वजनिक गर्दै आएको उनले जनाएका छन् ।