१४ बैशाख २०८१, शुक्रबार 1714150571
Banner

स्थानीय चुनावः गठबन्धनले उठाएको प्रश्न यिनको चरित्र अनि उत्तर

पुस ५, २०७७ पछि केपी ओलीमाथि जबरजस्त आरोप लगाइएको छ। केपी ओली अर्थात नेकपा एमालेले दुईतिहाई बहुमत नजिकको सरकार टिकाउन सकेन। अनि प्रश्न गरिन्छ, केपी ओलीले दुईतिहाई बहुमत नजिकको सरकार किन टिकाएनन् ? यो प्रश्नमा षडयन्त्र लुकेको छ। प्रश्नको चरित्रमाथि प्रश्न उठाउने ठाउँ छ। नेकपा एमालेको विरोध गर्नेहरूले भन्दैनन्, हामीले केपी ओली नेतृत्वको दईतिहाई नेतृत्वको सरकार पाँच वर्ष अर्थात एउटा कार्यकाल टिक्न दिएनौं। यसर्थ जनताले पाँच वर्ष सरकार टिक्न किन पाएन वा दिईएन भन्ने प्रश्नमा केन्द्रीत भएर उत्तर खोजिनु पर्छ। नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले पनि जनतालाई त्यो प्रश्नको उत्तर खोज्न रचनात्मक सहयोग गर्नुपर्छ।

नेकपा एमाले नेता तथा कार्यकर्ताहरूले मात्र होइन, सबै वामपन्थी नेता तथा कार्यकर्ताहरूले पनि प्रश्नको रूप पक्ष हेरेर होइन त्यसको चरित्र, नियत अर्थात सार पक्ष बुझेर दक्षिणपन्थीहरूले उठाएको प्रश्नको उत्तर जनताले बुझ्ने भाषामा दिन सक्नुपर्छ। अहिले देश स्थानीय चुनावको सम्मुखमा छ, दक्षिणपन्थीहरूले एमालेले अर्थात केपी ओलीले आफूले पाएको जनमत पाँच वर्ष टिकाउन सकेनन् त्यहि भएर हामी गठबन्धन बनाएर साझा उम्मेदवारका साथ चुनावमा आएका छौं भन्नेछन्। त्यसकै तयारीमा उनीहरू लागेका छन्। नेपाली कांग्रेसको खाकामा सत्ता गठबन्धनले चुनावी गठबन्धन बनाउन खोजेको छ। माझण्ड अनि मोहनविक्रम सिंहहरू भने त्यसलाई उपलब्धि ठानेर उत्साहित भइरहेका छन्। त्यसैले यस्ता प्रश्नको चरित्र र समयको बाध्यतालाई बुझ्ने क्षमता एमालेका नेता तथा कार्यकर्ताहरूमा हुनुपर्छ।

नेकपा एमालेलाई समस्यामा पार्ने गरी दक्षिणपन्थी सत्ता तथा चुनावी गठबन्धनबाट विभिन्न प्रश्न उठाउने र नेतृत्वमाथि प्रश्न उठाउने कामहरू भइरहेको छ। उनीहरूले किन त्यस्तो आरोप लगाउँदैछन् र प्रश्न उठाउँदैछन् भन्ने कुरामा एमालेका नेता तथा कार्यकर्ताहरू स्पष्ट हुनुपर्छ। प्रश्न र आरोपका रूप र सार पक्ष बुझेर त्यसको प्रतिवाद गर्नुपर्छ। नेकपा एमालेका विरूद्ध माहोल बनाउनका लागि दक्षिणपन्थी गठबन्धनले केपी ओलीलाई केन्द्रमा राखेर अनर्गल प्रचार गर्न र झुठा आरोप लगाउन थालेका छन्। किनभने दक्षिणपन्थीहरूको चरित्र नै आफ्नो असल र सबल पक्ष देखाएर वा बुझाएर जनतालाई आफ्नो पक्षमा पार्ने होइन कि जनमन भ्रमित बनाएर आफ्नो सफलता खोज्ने हो। आज दक्षिणपन्थी गठबन्धनका नेताहरूले त्यहि चरित्र चरितार्थ गरिरहेका छन्। त्यो चरित्रको पक्षमा मूलधार भनिएका मिडिया तथा पत्रकारहरू पनि देखिएका छन्।

प्रतिक प्रधानको प्रतिवाद कार्यक्रम ‘सफल होला त गठबन्धन ?’ बाह्रखरी त्यसको पछिल्लो र बलियो उदाहरण हो। यस कार्यक्रममा प्रधानले दक्षिणपन्थीहरूलाई फाईदा हुनेगरी सत्य लुकाएका छन्। त्यस्तै अन्य मिडिया तथा पत्रकारहरूले पनि दक्षिणपन्थी गठबन्धनलाई राजनीतिक फाईदा हुनेगरी समाचार, टिप्पणी र विश्लेषणहरू संप्रेषण गरिरहेका छन्। यसको मुख्य उद्देश्य नेपालको राजनीतिमा वामपन्थीहरूको बढ्दो लोकप्रियता, प्रभाव र जनआकर्षण कमजोर बनाउनु हो। त्यसैले उनीहरूले पाँच दलीय दक्षिणपन्थी गठबन्धनलाई प्रत्यक्ष फाईदा पुग्नेगरी आफ्ना सञ्जाल र प्रभावहरू प्रयोग गरिरहेका छन्। यो गठबन्धन बनाउने र देउवालाई खडा गर्ने आर्टीटेक र रणनीतिकारहरू माधवंझलनाथंप्रचण्ड माझण्डे हरू भएको कुरो लुकाएर लुक्नेवाला छैन्।

यो वास्तविकता थाहा हुँदाहुँदै पनि आफूलाई वामपन्थी वा कम्न्युनिष्ट हुँ भन्नेहरू गाउँघरमा अझैपनि माझण्डहरूको नेतृत्वमा रहेको दल माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको झण्डा बोकेर हिड्नु भएको छ। जबकी केन्द्रमा माझण्डहरू देउवाको नेतृत्वमा दक्षिणपन्थी गठबन्धन बनाएर चुनावमा वामपन्थीलाई हराउने रणनीति बनाउँदैछन्। केन्द्रमा दक्षिणपन्थीको सेवामा लागेको दल तथा नेताहरूलाई गाउँघरमा वामपन्थी कसरी मान्नेरु प्रश्न उठेको छ।

कांग्रेसले त एमालेलाई हराउन वा पछाडि पार्न वामपन्थी जनमत विभाजन गर्न खोज्नु अस्वभाविक होइन तर माझण्डहरू नै वामपन्थी मत विभाजन गरेर देउवाको नेतृत्वमा रहेको दक्षिणपन्थी पार्टीलाई जिताउनु खोज्नु स्वभाविक होइन।

यसर्थ भ्रममा नपरी माझण्डहरू दक्षिणपन्थी भएको यथार्थलाई स्विकारेर स्थानीय तहमा कांग्रेस हराउने अभियानमा सबै वामपन्थी एमालेको नेतृतवमा एकजुट हुनुपर्छ।

नेकपा एमालेका विरूद्धमा कांग्रेसको नेतृत्वमा औपचारिक रूपमा चुनावी गठबन्धन बनेको छ। यसका लागि माझण्डहरूले २०७७ बैशाखदेखि नै प्रयास गरेका थिए। समय मै माझण्डहरूको प्रयासलाई असफल बनाउन नसक्दा ५ पुस २०७७ मा संसद विघटनजस्तो अप्रिय निर्णयमा पुग्न तत्कालिन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली बाध्य भएका थिए। बैशाखदेखि ५ पुससम्मका राजनीतिक तथा अराजनीतिक क्रियाकलापहरूको वस्तुनिष्ठ विश्लेषण नगरेर दुईतिहाईको नजिकको बहुमत प्राप्त सरकार केपी ओलीले टिकाउन सकेनन् भनेर आरोप लगाउने काम भइरहेको छ जबकि त्यो परिणाम थियो कारण थिएन। तर त्यो कारण बताउन न बुर्जुवा मिडिया चाहन्छ न त पत्रकार नै।

दक्षिणपन्थी चुनावी गठबन्धन बन्ने सैद्धान्तिक सहमति भएको छ। अब यसको कार्यान्वयनको ढाँचा बनाउने गृहकार्यका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र बनाउने भनिएको छ। त्यो कस्तो ढाँचा बन्छ, प्रतिक्षाको विषय बनेको छ। कांग्रेसले आफू जित्ने सर्तमा माझण्डहरूलाई गठबन्धनमा सामेल गराएको छ। कांग्रेसीहरू माझण्डहरू बलियो बन्ने सर्तमा गठबन्धनलाई कायम राख्न चाहदैनन्। तर माझण्डहरू एमालेलाई हराउनुलाई आफ्नो उपलब्धी ठान्दैछन्। यसबाट माझण्डहरू भाई कांग्रेस भएको पुष्टी हुन्छ। त्यसैले अबको निर्वाचन एमालेका विरूद्ध कांग्रेस हुने भएको छ। झट्ट हेर्दा एमाले कमजोर देखिएला तर दिर्घकालमा वामपन्थी जनमत एकजुट भएर गठबन्धनलाई जनमतबाट पराजित गर्न जनताले मत दिनेछन्।

पाँच दलीय दक्षिणपन्थी सत्ता तथा चुनावी गठबन्धन बन्नुका पछाडि माझण्डहरूको मुख्य भूमिका छ। यीनीहरूलाई त्यस्तो निर्णयमा पुग्न सहयोग गर्ने पक्ष पर्दा पछाडि लुकेको छ। तर आज तिनै पात्रहरू केपी ओलीका कारणले राजनीतिक अस्थिरता बढ्यो र लोकतान्त्रिक गणतन्त्रमाथि संकट देखिदैछ भनेर बाह्य स्वार्थमा नेपालको राजनीतिलाई प्रयोग गर्दैछन्। दक्षिणपश्चिम यसबाट उत्साहित भएको उनीहरूको गतिविधिहरूबाट बुझ्न सकिन्छ।

यतिखेर नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले विपक्षीहरूले उठाएका प्रश्नहरूको चरित्र अर्थात रूप र सार पक्षलाई बुझेर त्यसको तर्कसँगत प्रतिवाद गर्न सक्नुपर्छ। त्यो क्षमताको विकास गर्ने दृष्टिकोणका साथ एमालेले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई नियमित प्रशिक्षण गर्दै उनीहरूको वैचारिक राजनीतिक धरातल बलियो बनाउनु पर्छ। आज वैचारिक रूपमा कार्यकर्ताहरू कमजोर देखिएका छन्। यो पक्षलाई स्विकारेर चुनावी रणनीति बनाउनु पर्छ। आज स्थानीय चुनावको सम्मुखमा कस्तो रणनीति अपनाउने, कस्ता कार्यक्रमहरू लागु गर्ने र उम्मेदवारहरूको योग्यता र क्षमता कस्तो हुनुपर्छरु भन्ने प्रश्नहरूमा केन्द्रीत भएर राजनीतिक बहस गर्दै जनपरिचालनमार्फत चुनावी माहोल तयार गर्नुपर्छ।

नेकपा एमालेको राजनीतिप्रति आमजनताको विश्वास बढाउन एमालेका नेता तथा कार्यकर्ताहरूले आदर्शअनुरूपको व्यवहार गर्न सक्नुपर्छ। बोली र व्यवहारबीच सधैं तालमेल मिलाउनु पर्छ। राजनीति जनता र देशको सेवा गर्ने माध्यम हो भन्ने मान्यताबाट नेता तथा कार्यकर्ताहरू निर्देशित हुनुपर्छ। अनि यसले जनतामा राजनीतिलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्न थाल्छ। त्यसैले यतिखेर नेकपा एमालेले जनमतबाट श्रेष्ठता हासिल गर्ने राजनीतिक विचार जनताको बहुदलीय जनवादअनुसार आफ्ना नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षित गर्दै पार्टीले चुनाव जित्ने ढंगले उम्मेदवार चयन गर्ने र घोषणापत्र बनाएर सार्वजनिक गर्नुपर्छ।

विपक्षीहरूले उठाएका नकारात्मक प्रश्नहरूको ठीक उत्तर अभ्यासहरूबाट दिनुपर्छ। तर परम्परागत शैली र अभ्यासले चुनाव जित्नका लागि जनादेश प्राप्त गर्न सकिन्न भन्ने बोध नेकपा एमाले नेता तथा कार्यकर्ताहरूमा हुनुपर्छ। विपक्षीहरूलाई जनमतबाट पराजित गर्ने रणनीति चाहिन्छ। राम्रो र हाम्रो उम्मेदवार छान्नु पर्छ, त्यसको के कति प्रयास भएको छ, स्पष्ट भएको छैन्। जनमुखी घोषणपत्र बनाउनु पर्छ, गृहकार्य गर्न ढिलो भएको देखिन्छ। ढिला गरी भएतापनि नेकपा एमालेको केन्द्रीय कार्यलयले स्थानीय चुनावको घोषणापत्र बनाउन ईमेलमार्फत सुझाव मागेको छ। प्राप्त सुझावहरूलाई गम्भीर रूपमा लिएर एमालेले घोषणापत्र तयारी निर्देशिका बनाउन सहयोग पुग्न सकिन्छ भन्ने विश्वास गरिएको छ। तर प्राप्त सुझावहरूलाई रचनात्मक ढंगले प्रयोग गरेर जनमुखी घोषणापत्र मार्फत विपक्षीहरूको प्रश्नहरूको सामाना गर्नुपर्छ।