२६ बैशाख २०८१, बुधबार 1715195543
Banner

एमबीबीएस परीक्षामा सेटिङ धन्दाः नक्कली परीक्षार्थी मार्फत जाँच दिन लगाएर करोडौं असुली

स्वास्थ्यजस्तो निकै संवेदनशील विषय र चिकित्सक पेशाकै बदनाम हुने गरी एमबीबीएस परीक्षामा सेटिङ धन्दा मौलाउँदै आइरहेको पुष्टि भएको छ ।

एमबीबीएसको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाउने र त्यसरी परीक्षा दिने परीक्षार्थीमार्फत् ३०–४० लाख रुपैयाँ असुली हुने गरेको पाइएको छ । यसमा बिचौलिया र माफियाकै संलग्नता रहने गरेको स्रोतको दाबी छ ।

चिकित्सा शिक्षा आयोग र चिकित्सा अध्ययन संस्थान (आईओएम) ले लिने एमबीबीएसको प्रवेश परीक्षामा करोडौंको सेटिङ हुने गरेको गुनासा आइरहेका थिए । सेटिङ धन्दा मौलाउँदै जाँदा आयोग र आईओएम दुवैमाथि समेत आशंका सिर्जना भएको छ ।

ती निकायले लिने परीक्षा शुक्रवारदेखि नै शुरू भएको छ । एमबीबीएस प्रवेश परीक्षामा लामो समयदेखि नै सेटिङको आधारमा करोडौंको चलखेल हुने गुनासा र उजुरी पर्ने गरेको थियो । शुक्रवारदेखि शुरू भएको एमबीबीएस प्रवेश परीक्षामा सहभागी भएका ४ जना नक्कली परीक्षार्थी र १ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले नक्कली परीक्षार्थी र बिचौलिया गरी ५ जना पक्राउ गरिएको पुष्टि गरे । उनले अन्य नक्कली परीक्षार्थीको पनि व्यापक रूपमा खोजी गरिएको जानकारी दिए ।

यसरी प्रहरीले ४ जना नक्कली परीक्षार्थी र बिचौलियालाई पक्राउ गरेपछि सेटिङ धन्दा सञ्चालन हुने गरेको र करोडांैको असुली हुने गरेको पुष्टि भएको हो । हाल सञ्चालन भइरहेको एमबीबीएस परीक्षामा अझै २०० जना नक्कली परीक्षार्थी सहभागी भएका हुनसक्ने आशंका प्रहरीले गरेको छ । ती सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एमबीबीएस परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरी करोडौं रुपैयाँको चलखेल तथा सेटिङ हुने भएकाले छानबिन र कारबाहीको माग गर्दै केही दिनअघि मात्रै प्रहरीको अपराध अनुसन्धान महाशाखामा उजुरी परेको थियो । त्यसलगत्तै प्रहरीले एमबीबीएस परीक्षामा नक्कली परीक्षार्थी प्रयोग हुनेबारे अनुसन्धान गर्दै आइरहेको थियो ।

बिहीवार मात्रै गृह मन्त्रालय र प्रहरीले पनि एमबीबीएस प्रवेश परीक्षामा नक्कली परीक्षार्थी प्रयोग हुने अवस्था रहेकाले सो परीक्षा स्थगित गर्न चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयलाई आग्रह गरेको थियो तर आयोगले भने परीक्षा नरोकिने जवाफ दिएको थियो ।

स्रोतका अनुसार सेटिङ धन्दा सञ्चालन गर्नेहरूले त्रिभुवन विश्वविद्यालयका टपर विद्यार्थी तथा यसअघि नै परीक्षा दिएका काविल विद्यार्थीलाई एमबीवीएसको प्रवेश परीक्षामा सहभागी गराउने गरेका छन् । यसैगरी भारतबाट समेत ट्यालेन्ट विद्यार्थीलाई पैसा दिएर ल्याउने गरिएको छ । सेटिङवाला तथा बिचौलियाले नेपालमा एमबीबीएसमा सहभागी हुने तर परीक्षामा उत्तीर्ण हुन कठिन हुने खालका विद्यार्थीका अभिभावकसँग प्रतिअभिभावक ३०–४० लाखसम्म उठाउने गरेका छन् ।

३०–४० लाख रुपैयाँ लिएर उनीहरूको ठाउँमा नक्कली परीक्षार्थीमार्फत परीक्षा दिने र पास गराउने प्रतिबद्धता जनाउँदै गिरोहले रकम असुली गर्ने गरेको छ । यसका लागि वास्तविक विद्यार्थीको प्रवेशपत्रमा नाम वास्तविक विद्यार्थीकै हुने तर फोटो भने नक्कली परीक्षार्थीको राख्ने गरिन्छ । प्रवेशपत्र परीक्षण हँुदा फोटो मात्रै हेरिने भएकाले नक्कली फोटो राखेको परीक्षार्थीबारे थाहा नपाउने गरी सेटिङ धन्दा सञ्चालन हुने गरेको छ ।

प्रहरीले हाल सञ्चालन भइरहेको परीक्षाबारे समेत गहन अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा यसपटकको परीक्षामा झण्डै २ सयसम्म नक्कली परीक्षार्थी सहभागी भएको प्रारम्भिक सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले नक्कली परीक्षार्थी र बिचौलिया गरी पाँच जना पक्राउ गरिएको पुष्टि गरे । उनले अन्य नक्कली परीक्षार्थीको पनि व्यापक रूपमा खोजी गरिएको जानकारी दिए । राजधानीमा खबर छ ।