१७ बैशाख २०८१, सोमबार 1714412774
Banner

चाँगुनारायणको समृद्धि : प्रतिलिटर ४०० मा बेच्दै बाख्राको दुध

काठमाडौं । रमेश बुढाथोकी चाँगुनारायण नगरपालिकाका उपमेयर हुन् । हसिला र मिजासिलो स्वाभावका बुढाथोकी नगरको विकास र समृद्धिमा पनि उत्तिकै संवेदनशील छन् । निर्वाचित भएसँगै राज्यकोषबाट पाउने आर्थिक सेवासुविधा समेत नलिने घोषणा गरेका उनले एक वर्षको अवधिमा तलब लिएका छैनन् । त्यसैगरी, उपप्रमुखको हैसियतले पाउने सवारीसाधन नगरका ज्येष्ठ नागरिक, अपाङ्ग, वृद्धलगायतको सेवाका लागि उपलब्ध गराएका छन् ।

अनाथ बालबालिकालाई उद्धार गरी आमा समूह र समाज कल्याणको संरक्षकत्वमा व्यवस्थापन गरिरहेको बताउँदै उनीहरूलाई महिनाको दुई हजारका दरले उपलब्ध गराउने गरेको उपप्रमुख बुढाथोकीले जानकारी दिए । ज्येष्ठ नागरिक अपाङ्गहरूलाई हौसला बढाउन नगरपालिकाले विभिन्न काम गर्दै आएको उनको भनाइ छ । ‘नगरले ज्येष्ठ नागरिकहरूलाई घरमै गएर स्वास्थ्य जाँच गर्ने, अपाङ्गलाई ह्विलचियर उपलब्ध गराउने तथा अपांगमैत्री खेल आयोजना गरी उनीहरूलाई हौसला प्रदान गर्ने गरेका छौँ,’ उनले भने ।

उनले चाँगुनारायण अस्पताल चौवीसै घण्टा चलाउने गरी काम भइरहेको बताए । शिक्षामा गुणात्मकता विद्यार्थीलाई नेपाल सरकारले दिवा खाजा भनेर १५ रूपैयाँ दिँदै आएकोमा नगरले १० रूपैयाँ थपेर २५ रूपैयाँ पु¥याएको जानकारी दिँदै उपप्रमुख बुढाथोकीले भने, ‘नगरपालिकाको आन्तरिक स्रोतबाट सार्वजनिक विद्यालयमा ३५ जना शिक्षकको व्यवस्था गरेका छौँ ।’
नगरले कृषिमा जोड दिएको बताउँदै बुढाथोकीले अनुदानमा ट्याक्टर बाँडेको, कृषकलाई बोका, बाख्रा, गाई वितरण गरेको बताए । जनताका स–साना काममा नगरपालिका साथमा रहेको बताउँदै लम्पीस्किन रोग निराकरणका लागि नगरले घरमै गएर उपचार गरिरहेको बताए ।

त्यस्तै माटो परीक्षणका लागि प्रत्येक वडामा एक/एक जना माटो परीक्षकको व्यवस्था गरेको जानकारी दिए । त्यसैगरी, नगरले एभोेगार्डो, अन्जिर र जापानिज कटुसमा पनि ध्यान दिएको उनले बताए । उनले भने, ‘जापानी कटुसको मूल्य प्रतिकिलो १९०० मूल्य छ । जुन काजुभन्दा पनि महँगो छ ।’ बाख्रापालनका लागि अनुदान दिएको बताउँदै उनले भने, ‘बाख्रापालनका लागि नगरले अनुदान दिएको छ । अहिले कृषकले बाख्राको दुध र सोबाट बनेको पनीर विक्री गरिरहेका छन्, बाख्राको दुध प्रतिलिटर ४०० का दरले बिक्री हुन्छ ।’

स्थानीय वस्तुको उपयोग गर्न नसक्दा किसानले मलको हैरानी भोग्नुपरेको उनको भनाइ छ । उपमेयर भन्छन्, ‘वरिपरिका वस्तुको सम्वद्र्धन र प्रवद्र्धन गर्न नसक्दा अहिले किसान मलको हैरानीमा छन् । म आफैँ कृषक हुँ । गाईंको गोबर युरिया मलको भन्दा पनि बढी मल लाग्छ । हामी गाईंको मल घाममा सुकाउँछौँ । यो गलत हो, जस्ताको राप वा त्यसलाई छत दिएर मललाई एक/दुईपटक पल्टाएर राखियो भने त्यो डिएपी र युरियाभन्दा राम्रो मल बन्छ ।’

यस्तै, बाख्राका बड्कुलाको रस युरियाभन्दा राम्रो हुने उनले बताए । उनले भने, ‘बाखा्रको बड्कुला न्यूनतम एक पाथीजति भएपछि त्यसलाई बोरामा हालेर पानीमा भिजाएर रस निकाल्ने । त्यो मल युरियाभन्दा बढी राम्रो हुन्छ । त्यसरी निकालिएको बाख्राको मलको एक लिटर पानी ३० रूपैयाँमा विक्री हुन्छ ।’

साथै, चाँगुनारायणमा मलको अभाव हटाउन मन्त्रालय, केयुकेएलसँग सहकार्यको प्रक्रिया अघि बढाइएको उनले बताए ।
‘मलको अभाव हटाउन सेफ्टी ट्याङ्की बनाउन लागिरहेका छौँ । जसमा मान्छेको फोहोर एक ठाउँ राख्छौ र पानी अर्कैतिर पठाउँछौ र फोहोरमा नर्कट हालेर मल बनाउँछौँ । खानेपानीका सचिवज्यू केयुकेएलका जीएमले फिल्ड भिजिट गरेर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । अब चाँडै नै डम्पिङसाइड बन्छ ।’ उपमेयर बुढाथोकीले आफनो योजना सुनाए ।

उनका अनुसार नगरपालिकाको विकासका लागि स्वास्थ्य विज्ञ, शिक्षा विज्ञ, अर्थविज्ञ, राष्ट्रिय योजना आयोगको पूर्वाउपाध्यक्षगायतबाट राय तथा सुझाव लिएर नीति तथा कार्यक्रम बनाइएको छ । बजेट तथा नीति कार्यान्वयनमा चाँगुनारायणबासीको सहयोग रहे समृद्ध चाँगुनारायणको सपना चाँडै पूरा हुने उनको भनाइ छ ।

कामका दौरानमा स–साना कुराले चुनौती रहेको बताउँदै विगतमा उपभोक्ता समितिको अध्यक्षले अरुको जग्गामा बाटो खनेर आफ्नामा आएर बाटो नखनेपछि अघि सर्दा आफूमाथि अख्तियार र मानवअधिकार आयोगको मुद्दा समेत लागेको उनले स्मरण गरे । यस्तै, उनले न्यायायिक समितिमा चुनौती रहेको बताउँदै उनले कतिपय मुद्दा भन्नै नहुने र कतिपय हेर्नै नमिल्नेखालका आउने गरेको सुनाए ।

विवाह गरेको २३ दिनपछि श्रीमानले छाडेर कुवेत गएर १० वर्षसम्म घर नफर्केपछि विवाह दर्ता र नागरिकताविहीन रहेकी टुहुरी महिला मानवीय आधारभूत आवश्यकताका लागि न्याय समितिमा निवेदन लिएर आएको घटनाले मन छोएको उनी बताउँछन् ।
उनले भने, ‘हामीले उहाँका सासुससुरालाई छलफलमा बोलायौँ । उहाँको श्रीमानलाई झिकाउने प्रयास ग¥यौँ । म आफैँले कल गरेँ । तर, नेपाल नभएकाले केही गर्न सकेनौँ । श्रीमानले श्रीमती भएको स्वीकार्दै अंश दिन तयार भए । तर, श्रीमतीसँग नागरिकता र विवाह दर्ता नभएकाले नगरपालिकाबाट केही गर्न सक्ने अवस्था थिएन । जिल्ला अदालतसँग समन्वय गरेर पीडितलाई न्याय दिलाएका छौँ ।’

नगरपालिकामा सबैभन्दा बढी साँध सीमाना र डिभोर्सका मुद्दा बढी आउने गरेको उनको भनाइ छ । त्यसैगरी पछिल्लो समय श्रीमान् श्रीमतीबीच हुने फरक खालका केस पनि आउने बुढाथोकी बताउँछन् । एक वर्षमा ९० वटा मुद्दा दर्ता भएकोमा करिब ६५ वटा मुद्दा मिलापत्र भए पनि अझै केही मुद्दा विचाराधीन रहेको बताए ।

हप्ताको एकदिन बस्ने न्यायायिक समितिको बैठकमा १०–१२ वटा मुद्दा हेर्ने गरेको उनको भनाइ छ । चाँगुनारायण नगरपालिका धार्मिकस्थल बढी भएको नगरपालिका भएकाले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको बुढाथोकीले बताए ।

‘चाँगुनारायण रमणीयस्थल हो । हाम्रो पहिलो प्राथमिकता पर्यटनमा हुन्छ । यहाँ चाँगुनारायण मन्दिर, मोहनपोखरी, रत्नागिरि जस्ता स्थान पर्यटकीय स्थल छन्,’ चाँगुनारायण नगरपालिकाले २०८२ सालमा पर्यटकीय महोत्सव र चाँगु महोत्सव मनाउने योजना रहेको उपप्रमुख बुढाथोकीले सुनाए ।

उपप्रमुख बुढाथोकीले नगरका ८० हजार जनतालाई खुसी बनाएर काम गर्न नसकेको बताए । उनले भने, ‘कामको सुरुवात गरेका छौँ । नगरबासीको सुझाव अनुरूप हामी अघि बढ्छौँ । जति गर्छौँ भनेर आएका थियौँ त्यति गर्न चाँहि सकेका छैनौँ तर गर्ने कोसिशमा छौं ।’