१५ बैशाख २०८१, शनिबार 1714198087
राजनीति

रोहितले भक्तपुरका जनतालाई पचास वर्ष झुक्याएः नेता भट्टराई

भक्तपुर । नेकपा एमालेका नेता निर्मल भट्टराईले नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे भक्तपुर नगरपालिकाका जनतालाई पाँच दशकसम्म झुक्याउन सफल भएको बताएका छन् ।

नेकपा(एमाले) भक्तपुर नगर कमिटीले आज यहाँ आयोजित वृहत् कार्यकर्ता प्रशिक्षण भेलामा उनले सो कुरा बताएका हुन् ।

‘रोहितले स्टालिनले रूसबाट ट्राटस्की लखेटेको सुन्दर कथा सुनाए, चीनमा माओले लिन प्याओलाई ठेगान लगाएको अतिरञ्जित कथा पढाए र त्यो कथाको हुबुहु नक्कल भक्तपुरमा ह्योजु काण्ड घटाएर गरियो’, भट्टराईको कथन थियो ।

‘रोहितले भक्तपुरका किसानलाई लेनिनवाद र जनवादी(केन्द्रियता घोक्न लगाए तर व्यवहारमा उनले आफ्ना आलोचकलाई ठोक्न लगाए । उनले जीवनमा कहिल्यै चुनाब नलडेका माओको सिद्धान्त फलाकी रहे तर व्यवहारमा पञ्चायती चुनावमा भक्तपुर नगरको प्रधानपञ्चको चुनाव निःशर्त लडे, लडाइरहे । कामदार वर्गको दुहाइ दिएर भक्तपुरका धनी पूँजीपतीलाई भक्तपुरको सबै श्रोत र साधनको अधिपति बनाउन सधैं अग्रसर भए’, उनले थपे ।

भट्टराईले एमालेका सबै कार्यकर्तालाई एकजुट भएर भक्तपुर नगरपालिकामा भइरहेको नेमकिपाको ब्रम्हलुट रोक्र र आगामी निर्वाचनमा सफलता हासिल गर्न आग्रह गरेका थिए ।