१ जेष्ठ २०८१, मंगलवार 1715704941
Uncategorized

चन्दा नपाएपछि प्रचण्ड सेयर बजार ध्वस्त पार्न लागे : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादीका अध्यक्ष प्रचण्डले चन्दा नपाएको झोकमा  शेयर बजारबारे अनावश्यक टिप्पणी गरेको हुनसक्ने बताउनुभएको छ ।  

बुधबार एमालेका मनोनित केन्द्रीय सदस्यहरूलाई च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सपथ गराउने कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । ‘प्रचण्डले सेयरबजारका बारेमा बडो क्रान्तिकारी भएर बोलेछन्, साम्राज्यवाद विकसित भएपछि शेयरबजारमा जान्छ भनेछन्,’ ओलीको भनाइ थियो, ‘लेनिनभन्दा दुई कदमअघि बढेर नयाँ सिद्दान्त ल्याए छन् । कुन सेयर कारोबारीले चन्दा दिएन छन्, अनि त्यसविरुद्ध बोले । न रहे बाँस, नबजे बाँसुरी ।’

‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए । प्रचण्डले त्योभन्दा बढ्दा जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिए,’ ओलीले भन्न्ुभयो ,‘त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन । कुन सेयर कारोबारीले चन्दा दिएन होला । अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए ।’ 

ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भएर माघ १९ को घटना भएको दाबी गर्नुभयो । ‘प्रचण्ड र ज्ञानेन्द्रबीचमा सहमति भएर त्यो उपद्रो भएको थियो,’ ओलीको भनाइ थियो ।

१९ माघमा ज्ञानेन्द्रले सत्ता हातमा लिँदै दलहरूमाथि प्रतिबन्ध लगाएर प्रत्यक्ष शासन सुरू गरेका थिए । ओलीले त्यही सहमतिपछि ज्ञानेन्द्रले माओवादीको बिनाकुनै अवरोध अभिनन्दन कार्यक्रम गर्न पाएको बताउनुभयो  ।
‘त्यही सहमतिपछि अभिनन्दन कार्यक्रम चलाइयो । हामी रुकुम, रोल्पा जान नसक्ने, ज्ञानेन्द्र खुलुमखुल्ला जान सक्ने कसरी भयो ?’ ओलीको प्रश्न थियो ।  ओलीले नेपालमा बाहिर बाहिर क्रान्तिकारी र परिर्वतनका कुरा गर्नेहरुले भित्रभित्र जनविरोधी पश्चगामी कदम चालिरहेकाले मुलुक त्यसको मार खेप्नु परिरहेको बताउनुभयो । यस्ता क्रिायकलापहरलाई जनदवावबाट परास्त गरिने पनि ओलीले ठोकुवा गर्नुभयो ।