२०७९ आश्विन १६ आईतवार 1664770763
Banner

‘हामीजस्तालाई एमालेले बाहेक कसले हेर्छ र, बाबु !’

केही समय अघि तमोर नदीको गढतीरबाट म उकालो लाग्दै थिएँ । सालका पात झरेर उकालो बाटो पुरै ढाकिएको थियो । एकदशक अघिसम्म दोहोरी लत्ता यात्रु पाइने त्यो बाटो आज सुनसान छ । नेकपा (एमाले)को नौ महिने शासनकालमा शुरू भएको ‘आफ्नो गाउँ आफै बनाऔं’ को बजेटको कारण माथि डाँडाबाट मोटरबाटो बनेपछि त्यो बाटो आक्कलझुक्कल मात्र मानिस हिड्दा रहेछन् । आफु तन्नेरी हुँदा जिल्ला सदरमुकाम जाँदा भरिया र अधबैंसे यात्रुलाई उछिनेर बुर्कुसी मारेको झल्झली सम्झदै स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै उकालो चढें म ।

तन्नेरी हुँदा त्यो नाके उकालो हिड्दाका अनेकन् घटनाहरु छन् । तर अड्चालीस सालको एउटा घटना चाहिँ मेरो दिमागको वल्लो छेउदेखि पल्लो छेउसम्म बारम्बार कुदिरह्यो । म अखिलको राजनीतिमै भएको बेला बहुदल आएलगत्तै अड्चालीस सालको संसदीय चुनावमा तेह्रथुमको चुनाबमा खटिनु पर्‍यो । हामी चुनावी अभियानको सिलसिलामा तेह्रथुमको आठराईतर्फ जादैंथियौं । कोया खोलापारिको नाके उकालो बाटोको थकान मेट्न घुमाउने चौतारोमा बस्यौं ।

त्यतिबेला हामी बाटो हिड्दा खुब वैचारिक बहस गर्थ्यौं । माओ र पार्टीको लाइन नौलो जनवादको सबै कोणबाट छलफल गरिन्थ्यो । दिनमा करिब दुई दर्जन पटक माओको नाम नलिइ झापालीहरूको दिनचर्या वित्तैनथ्यो । यतिसम्म कि चुरोट नखान आग्रह गर्दा चुरोटका अम्मली कमरेडहरू माओले पनि चुरोट खानुहुन्थ्यो भन्थे ! जननेता मदन भण्डारीलाई धन्यवाद दिनुपर्छ, वहाँले जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर हामी सबैलाई सजिलो बनाइदिनुभयो । विगतमा जस्तो पटकपटक माओलाई सम्झनुपर्ने सकसबाट मुक्त गराइदिनु भयो । नेपाली क्रान्तिको मौलिक बाटो निर्माण भयो ।

माओत्सेतुङ्गको महानताको बहस चलिरहेको बखत एउटी पचास नाघेकी, नाकमा बढेमानको बुलाकी लगाएकी एक लिम्बुनी स्याउलाको भारी बोकेर त्यहीं आईपुगिन् ।

एक जना साथीले उटिपट्याङ्ग प्रश्न सोधिहाल्यो —‘माओत्सेतुङ्गको घर कतातिर पर्छ आमै ’’
उनले एकछिन सोचिन् र भनिन् —“ख्वै मामाको घर त उमाथि छ , मामासेतुङ्ग त मु चिन्दैन बाबु”
सबै गलल्ल हाँसे ।

“मुलाई जिस्क्याउछ कि क्याहो मोरा हो ।”—आमै रिसाउदै उकालो लागिन् ।
मेरो मन मष्तिष्कमा यस्तै अनेकन कुरा खेल्दै थिए । सुनसान त्यो घुमाउने चौतारोमा कुनैबेला शुक्रबारे बजारबाट फर्कनेहरु स्थानीय लिम्बुनीले बनाएको एक दुई डबका जाँड सड्क्याएर घर लाग्दथे । तर आधुनिकतासँगै त्यो चलन अब इतिहास भइसकेको छ । अहिले त परम्परागत जाँड भाँडमा गएको छ, ह्विस्की र वियरले बजार पिटेका छन् ।

“यता आइजो”—नजिकैको झाडीबाट आवाज आयो । म झस्कें ।
अलिकति स्याउला काखी च्यापेर एउटा बुढो झाडीबाट फुत्त बाहिर निस्क्यो ।
टाउकाको पछिल्लो भागमा अलिअलि सेतो कपाल, सिङ्गै पिपलको रुखको चित्र देखिने उनको अनुहारको चाउरी, चाउरीको खोल्साबाट बगिरहेको पसिनालाई म ट्वाल्ल हेरिरहें ।

स्याउला चौतारामा राखेर बुढा सोझै नजिकैको धारामा गए । अनुहारको पसिना पखाले र अन्जुली थापेर तनतन पानी पिए । घाँटीमा बेरेको घुर्मैलो गम्चाले अनुहार पुछे र खुइइय गर्दै चौतारामा आएर बसे । एक हुल बाख्रा उनको वरिपरि झुम्मिए ।
मलाई उनले टाउकोदेखि पैतालासम्म एकटक हेरिरहे । उनलाई दोहोरो सास फेर्न केही समय लाग्यो । मेरो डायरी नियाले ।
“हैना बाबुलाई त मैले चिनिन नि । बाबुको घर कता पर्‍यो ?”

“उपारीपट्टि”—मैले औंलाले देखाउदै भनें । “धेरै पहिले काठमाण्डौ गएको । दशबर्ष पछि यता फर्कदैछु । माथि पोक्लवाङ्गको भट्टराई हुँ ।”
“अनि बाबैको घर चाहिँ कता पर्‍यो नि ?”—मैले सोधें ।
“उ त्यो झुप्रो हो मेरो, घर छैन पुरानो घर थियो, भुकम्पले भत्कायो । ”
अलि उता एउता स्याउले झुप्रो रहेछ ।
“कतिबर्ष पुग्नुभयो ?”
“९० सालको भुईंचालो म कोक्रोमा थिएँ रे बाबु । ख्वै कति बर्ष पुगें ?”
“घरमा को को हुनुहुन्छ ? बुढो मान्छे आफैं बाख्रा चराउन आउनु भएछ ।”
“म एक्लै छु बाबु, कोही छैनन् । बुढी बितेको दश बर्ष भयो । एउटा छोरो थियो । पैसा कमाउन कोरिया गएको, मेसिनमा बेरिएर मर्‍यो रे । लास पनि देख्न पाइन । बुहारी पल्ला गाउँको केटोसंग मधेशतिर घरजम गरेर बसेकी छ रे ।” बुढाका आँखा रसाए ।
म अरु जिज्ञाशा राख्न खोज्दै थिएँ तर बुढा बोलिरहे ।
मलाई बुढेसकालमा हेर्ने कोही छैन बाबु । मलाई त मन मुहान अधिकारीले हेरिरहेका छन् । उनको पार्टी एमालेले हेरेको छ । आफूलाई दालभात खान सानो टुक्रा खेत छ । नुन तेल मसला उनैले जुटाइ दिएका छन् ।

के पी ओलीले हाम्रो भत्ता बढाएर महिनाको चार हजार पुर्‍याएका छन् । उनको सरकार रहिरहेको भए अहिलेसम्म पाँच हजार पुग्थ्यो । विरोधीहरू मिलेर उनैलाई हुत्याइ दिए । देउबा, प्रचण्ड र के रे के रे अँ माधव नेपालहरूले हामीजस्ता दुःखी गरिब जनताको सरकारलाई देखि सहेनन् ।

उनी निरन्तर बोलिरहे । मैले एन्टोन चेखवको “दुःख” शीर्षकको कथा सम्झें । कसैलाई आफ्नो वेदना पोख्न नपाउँदाको मानिसको पीडा सम्झें । म सुनिरहें ।
पहिले पहिले म आफैं गाविस गएर भत्ता थाप्थें । अहिले म त्यति टाढा हिंडेर पुग्न सक्तिन । अहिले यहाँ एमाले पार्टीले जितेको छ । वडाका मान्छे मलाई घरमै पैसा पुर्‍याउन आउछन् । देउतै आएजस्तो लाग्छ मलाई । मेरो झुप्रोमा मन मुहान अधिकारीको फोटो र म बस्छौं, अरु कोही छैन । फोटोका मन मुहान अधिकारीले मलाई माया गर्छ, म उनलाई माया गर्छु ।”
मैले थकाइ मारेको करिब एक घण्टा भइसकेको थियो । अझै ती बुढाको कुरा सुनिरहन मन थियो मलाई । पार्टीले जनतालाई गरेको सानो सेवाको गहिराइ अझै नाप्न मन थियो मलाई । तर समयले नेटो काटिसकेको थियो । घाम ओरालो लागिसकेका थिए । टाढा पुग्नुथियो ।
“नमस्कार है बा, म हिडें अब । टाढा पुग्नुछ ।”
बुढाले हात कमाउदै नमस्कार फर्काए ।
म निकै माथि पुगुन्ज्याल बुढाले मतिरै हेरिरहे ।
बुढाको नजर म तिर होइन, मेरो कालो डायरीमा टाँसिएको रातो सूर्य चिन्हको स्टीकरतिर थियो ।