५ जेष्ठ २०८१, शनिबार 1716071447
शिक्षा /स्वास्थ्य

स्वास्थ्य क्षेत्रको संरचनागत सुदृढीकरण आवश्यक आवश्यक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि संरचनागत सुदृढीकरण र गुणस्तरीय जनशक्तिको व्यवस्थापन आवश्यक रहेको बताएका छन्।

७५ औं विश्व स्वास्थ्य दिवसका अवसरमा भिडियो सन्देश दिदैं स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री प्रचण्डले जनस्वास्थ्यका केही क्षेत्रमा नमुनाको रुपमा सफलता हासिल गरेतापनि उपचारको पहुँच र गुणस्तरीयताको विषयमा भने अझै धेरै गर्नुपर्ने उल्लेख गरेका छन्।

संविधानले निदृष्ट गरेको आधारभूत स्वास्थ्य सेवा निःशुल्क बनाउने प्रतिवद्धतामा सरकार अडिग रहेको र स्वास्थ्य सेवालाई गुणस्तरीय र सबैको पहुँचमा पुर्‍याउन प्राथमिक स्वास्थ्य सेवालाई विस्तार गरी सर्वव्यापी पहुँच स्थापना गर्न जोड दिने सरकारको लक्ष्य रहेको बताए।

उनले नेपालले राष्ट्रियस्तरमा तय गरेका लक्ष्यहरु, दिगो विकासका लक्ष्य र अन्तर्राष्ट्रिय मञ्चमा गरेका प्रतिवद्धताहरु पूरा गर्न आवश्यक नीति, रणनीति तथा कार्ययोजना बनाएर प्रभावकारी कार्यन्वयनमा जोड दिइएको उल्लख गर्दै स्वस्थ जीवनशैलीको प्रवर्द्धन, नसर्ने रोगको नियन्त्रण तथा रोकथाममा सरकारले नीति लिइरहेको जानकारी दिए।

‘महामारी तथा प्रकोपमा प्रभावकारी प्रतिकार्यको लागि स्वास्थ्य प्रणालीलाई सुदृढ गर्न लागि परेका छौं,’ उनले भने, ‘नसर्ने रोग नियन्त्रण तथा रोकथाममा पनि लागिरहेकै छौं।’