१४ बैशाख २०८१, शुक्रबार 1714142161
Uncategorized

कोठै पिच्छे मन्त्रालय, झ्यालै पिच्छे साइनबोर्ड : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले विपक्षीले उठाएका सामान्य प्रश्नमा नअल्झिन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला संगठन कमिटी भक्तपुरद्वारा शनिबार आयोजित नेकपा एमालेको १० औँ महाधिवेशनको सन्देश प्रवाह तथा केन्द्रीय कमिटीमा निर्वाचित सदस्यको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता बस्नेतले एमालेको मुख्य लक्ष समाजवादमा पुग्ने भएकोले त्यसैमा केन्द्रित हुन आग्रह गर्नुभयो । ‘अब जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवाद प्राप्त गर्ने लक्ष हाम्रो लक्ष हो, हाम्रो मूल रणनीतिक लक्ष यो हो, यो पाटोमा गइरहँदा हामी कहिले काहीँ अलमलमा पर्छौँ’, उहाँले भन्नुभयो ।

बस्नेतले कम्युनिष्ट सधैँ गरिब नै हुनुपर्छ भन्ने मान्यता गलत भएको बताउनुभयो । कम्युनिष्ट आर्थिक, सामाजिक रूपान्तरणका पक्षधर भएकोले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता उत्पादनमा लाग्नु पर्ने बताउनुभयो । ‘अब यो थ्यौरी पुरानो भयो, यो थ्यौरी असफल थ्यौरी हो, अब यो थ्यौरी चल्दैन’, उहाँले भन्नुभयो ।

देश भित्र हुने उद्योग क्षेत्रको विकासले राष्ट्रिय पुँजीको विकासमा सहयोग पुग्ने बताउनुभयो । सामान किनेर सामान बेच्ने खालको व्यापारले देशको आर्थिक विकास नहुने बस्नेतले बताउनुभयो । अबको नयाँ पुस्तालाई त्यो दिशा तर्फ लैजान अवश्यक रहेको बनेतले बताउनुभयो । ‘वर्ग संघर्ष मात्र होइन, वर्ग रुपान्तरण पनि हाम्रो दायित्व हो’, बस्नेतले भन्नुभयो ।

उहाँले एमालेलाई संगठनातत्मक अराजकता र दक्षिणपन्थबाट जोगाउन आवश्यक रहेको उहाँले बताउनुभयो । ठुला नेताले संरक्षण गर्ने र धेरै जना मिलेर विरोध गर्दा संगठनात्मक अराजकता बढ्ने उहाँको विश्लेषण छ । एमालेको १० औँ महाधिवेशनले यो संगठनात्मक अराजकताको अवशेष नै नराख्ने निर्णय गरेको बस्नेतले प्रष्ट पार्नुभयो ।

अहिले निर्माण भएको गठबन्धन एमाले विरुद्धको दक्षिणपन्थी गठबन्धन भएको बस्नेतको भनाइ छ । सबै प्रदेश सरकारको धन्दा मन्त्रालय थप्ने कुरामा केन्द्रित भएको उहाँले बताउनुभयो । ‘कोठै पिच्छे मन्त्रालय झ्याले पिच्छे साइनबोर्ड’, बस्नेतले भन्नुभयो ।

सरकारले पुँजीगत खर्च गर्न नसकेको भन्दै बस्नेतले यसले नेपालको अर्थतन्त्र डामाडोल हुँदै गएको बस्नेतले बताउनुभयो । सामान्य जोड घटाउ समेत गर्न नजान्ने भन्दै उहाँले अर्थमन्त्री जनार्दन शर्माको आलोचना गर्नुभयो ।

प्रचण्डको उग्र वामपन्थ बुढानीलकण्ठमा गएर टुङ्गिएको पनि उहाँले बताउनुभयो । कम्युनिष्ट सरकार किस्तीमा लगेर शेरबहादुर देउवालाई बुझाई लड्डु खाएर प्रचण्डले वामपन्थी आन्दोलन समाप्त गरेको उहाँको भनाइ छ ।