१४ बैशाख २०८१, शुक्रबार 1714181803
समाचार

धनगढीका स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि पाएन तलब

काठमाडौं । धनगढी उपमहानगरभित्रका स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि तल बभत्ता नपाएपछि आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । ६ महिनादेखि सेवा सुविधा नपाउँदा दैनिक जीवन यापन गर्नमा समेत कठिनाई भइरहेको उनीहरूको गुनासो गरेका छन् ।

शुक्रबार धनगढी नगर प्रमुख गोपालबहादुर हमाललाई स्वास्थ्यकर्मीहरूले ज्ञापनपत्र बुझाउँदै दबाबमुलक कार्यक्रम सार्वजनिक गरेका छन् ।

धनगढी उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्यतर्फका स्थायी कर्मचारीहरूले आइतबारदेखि सार्वजनिक बिदाको दिन बाहेक धनगढी उपमहानगरपालिका प्रशासन शाखामा हाजिर गर्ने र नगरपालिकाको प्रांगणमा कालोपट्टि बाँधेर धर्ना दिने बताएका छन्।

माग सम्बोधन नहुन्जेलसम्मका लागि दैनिक रुपमा सञ्चालन गरिएका कार्यक्रमहरूको प्रतिवेदन नगर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवा र विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक लगायतका अन्य सेवाहरूमा आन्दोलनरत स्वास्थ्यकर्मीहरू सहभागी नहुने लगायतका दबाबमुलक कार्यक्रममा उल्लेख छ।