१२ बैशाख २०८१, बुधबार 1713984333
राजनीति

प्रचण्ड र माधव नेपाल विदेशीसामु लम्पसार परे: पृथ्वीसुब्बा गुरुङ

काठमाडौं  – नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले माओवादीसँग पार्टी एकता गर्दा पार्टीभित्र धेरै विकृति र विसङ्गति देखिएको बताउनुभएको छ।  

आज भक्तपुरमा आयोजित प्रेस चौतारी नेपाल वाग्मती प्रदेश कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले माओवादी अलग भएर गएपछि झन पार्टी चलायमान भएको बताउनुभयो। संगठनमा देखिएको अनुशासन र अराजकताको खोजी गर्न पार्टी तलसम्म पुग्ने ग्रासरुट अभियानमा लागेको उहाँले प्रष्ट पार्नुभयो ।

पार्टी भित्र देखिएको समस्या पहिचानको लागि मिसन ग्रासरुट सञ्चालन गरिएको उपमहासचिवले बताउनुभयो । उहाँले भन्नुभयो ‘संगठन भित्र देखिएको अनुशासनहीनता ठोस रूपमा पहिचान गर्न मिसन ग्रासरुट आयोजना गरिएको हो।’

समस्याको पहिचान गरेपछि मात्र त्यसको उपचार गर्न सकिने बताउँदै गुरुङ अभियान पछि समस्या पहिचान गरेर समाधानको उपाय खोजी गरिने बताउनुभयो । कुन समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा पार्टी नेतृत्व लाग्ने उहाँले प्रष्ट पार्नुभयो ।

जनताबाट अलग भएको कम्युनिष्ट पार्टी समाप्त हुने उहाँले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘त्यो पाठ नेकपा माओवादीबाट सिक्नु पर्छ । कम्युनिष्टको शक्ति जनतामा छ, त्यसकारण हामी जनताको बीचमा जानु पर्‍यो ।’

नेकपा एमाले सही विचारकै कारण लोकप्रिय भएको गुरुङले बताउनुभयो । एमालेको विचारलाई खिया लाग्न नदिन निरन्तर अर्जाप्नु पर्नेमा उहाँले जोड दिनुभयो । यसैको लागि नियमित प्रशिक्षण, समीक्षा र छलफल गर्नु पर्ने गुरुङले बताउनुभयो ।

पार्टी भित्र देखिएको दक्षिणपन्थी अवसरवाद र अराजकतावाद अन्त्य गर्नु आजको मुख्य विषय भएको उहाँले बताउनुभयो । यसको लागि पार्टी र हरेक जनवर्गीय संगठनमा सुद्धिकरण र सुदृढीकरण आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो ।

एमालेलाई घेराबन्दी गर्न शत्रुसँग मिल्ने माओवादी र समाजवादी गद्दार भएको उहाँले गुरुङले बताउनुभयो। उहाँले भन्नुभयो, ‘माधव नेपाल र प्रचण्डको पार्टीले बोकेको विचार गैरकम्युनिष्ट विचार हो।’

कम्युनिष्ट पार्टीको जन्म नै स्वतन्त्र र स्वाधीनताको लागि भएको कुरा बिर्सिएर प्रचण्ड र माधव नेपाल विदेशीसँग लम्पसार पर्न पुगेको बताउनुभयो ।