१६ बैशाख २०८१, आईतवार 1714368622
समाचार

८० दलको निवेदन जाँचबुझको प्रक्रिया अन्तिम चरणमा

काठमाडौं, फागुन २९ । स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरूको निवेदनका सम्बन्धमा जाँचबुझको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

आयोगले ती दलको सम्बन्धमा एकदुई दिनमै निर्णय गर्ने जनाएको छ । आयोगले फागुण ५ देखि १५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेकोमा ८० वटा दलले मात्र आयोगमा दर्ता गराएको थियो । आयोगबाट मान्यता प्राप्त दलको संख्या १ सय १० भए तापनि ८० दलले मात्रै स्थानीय चुनावमा भाग लिन दल दर्ता गरेका हुन् ।

संविधान र राजनीतिक दलसम्बन्धी ऐनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने व्यवस्था छ । दल दर्ताका लागि आएका निवेदनको अध्ययन गरेर आयोगले निर्णय गरी दर्ता भएका दलका नाम राजपत्रमा प्रकाशित गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

यसैबीच, निर्वाचन प्रयोजनले दर्ता भएका दलसँगै यस आयोगमा दर्ता कायम रहेका साना दलहरूले आफ्नो दलको चिह्न मतपत्रमा नराखेको भन्दै विरोध जनाएका छन् ।

निर्वाचन आयोगले शुक्रबार गरेको अन्तक्र्रिया कार्यक्रममा पनि उनीहरूले आफ्नो दलको चुनाव चिह्नमा निर्वाचन लड्न पाउनुपर्ने विषयमा निर्वाचन आयुक्तहरूको ध्यानाकर्षण गराएका थिए । उनीहरूले मंगलबारसम्म आफ्नो माग सुनुवाई भएन भने संयुक्त आन्दोलनमा जाने घोषणा गरेका छन् ।

साना दलले विरोध जनाएपछि आयोगले कानुनमा भएकै व्यवस्था लागु गर्ने, निर्वाचनमा भाग लिन मान्यता पाएका दलका सबै उम्मेदवारलाई एउटै निर्वाचन चिह्न प्रदान गर्ने र दलकै निर्वाचन चिह्न दिने विकल्पमा छलफल अघि बढाएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।