१४ बैशाख २०८१, शुक्रबार 1714115896
पर्यटन

मौसममा सुधार आएपछि भरततालमा चहलपहल बढ्यो

मौसममा सुधार आउन थालेपछि सर्लाहीको बागमती नदी किनारमा नवनिर्मित भरततालमा चहलपहल बढेको छ । रातमा कुहिरो, दिनमा शीतलहरका साथै खोला किनारको चिसो सिरेटोका कारण घटेको चहलपहल अहिले बढेको हो । भरततालस्थित बोट व्यवसायी सङ्घका सदस्य रामकाजी थापाले मौसम अनुकूल भएपछि रमाउन आउने बाह्य तथा आन्तरिक आगन्तुकको सङ्ख्या वृद्धि भएको बताउनुभयो ।

उहाँले अहिले सरदर चार हजार बढीले भरततालको सौन्दर्य नियाल्न आउने गरेको जानकारी दिनुभयो । मोटरबोट चढ्न तालको किनारमा भेटिएका भारत सीतामढीका शिवजीप्रसाद साहले भरतताल तथा रौतहट जिल्लाको नुनथर पहाड घुम्न आफ्नो परिवारका साथ आएको बताउनुभयो । आफ्नो मुलुकमा मोटरबोट चढ्न मुम्बईको गोवा पुग्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । “यति ठूलो तालमा मोटरबोट चढेर विहार गर्दा आफूलाई सामुद्रिक यात्रामा रहेको महसुस हुन्छ”, भरतताल छेउमा पसल सञ्चालन गरी बसेका लालबन्दी नगरपालिका–६ का सङ्गीता स्याङ्तानले भन्नुभयो, “मोटरबोटले पानीजहाज चढ्ने धोको पु¥्याइदिएको छ ।” अहिले तालमा २८ सिट क्षमताको ३० मोटरबोट र ६५ सिट क्षमताको एउटा आधुनिक मिनिक्रुजले बाह्य तथा आन्तरिक पर्यटकलाई सेवा दिइरहेको छ । झन्डै एक सय बिघा क्षेत्रफल ओगटेको यस तालमा सयौँको सङ्ख्यामा झुण्ड बनाई आउने पानीहाँसले थप सौन्दर्य बढाइरहेको छ । बागमती नगरपालिकालाई मोटरबोट सञ्चालन गरेबापत दैनिक रु १५ हजारदेखि २० हजार राजस्व तिर्ने गरिएको जानकारी दिनुहँुदै बोट व्यवसायी सङ्घका सदस्य थापाले भन्नुभयो, “सिजनमा रु एक लाखसम्म राजस्व तिरेका छौँ ।” भरततालमा घुम्न आउने पर्यटकको पहिलो रोजाइ मोटरबोट चढ्ने हुने गरेको स्थानीय पत्रकार श्रवण थापाको भनाइ छ ।

उहाँका अनुसार, त्यसपछि तस्बिर खिचाउने र मम, चाउमिनको स्वाद लिँदै ताललाई नियाल्नेहरु बढी हुन्छन् । तालको छेउछाउमा ५० जनाभन्दा बढी क्यामेरा बोकेका व्यक्ति भेटिने गरेका छन् । क्यामेरा बोकेर सेवाग्राहीको पर्खाइमा रहेका स्थानीय सुजितकुमार साहले विभिन्न पोजमा युवायुवतीले तस्बिर खिचाउन मन पराउने गरेको बताउनुभयो । उहाँले तस्बिर खिचेर दैनिक सरदर रु दुई हजारसम्म कमाइ हुने गरेको जानकारी दिनुभयो ।