१८ बैशाख २०८१, मंगलवार 1714471197
Banner

रामनवमीमा जनकपुरधाममा विशेष उत्सव

काठमाडौं। जनकपुरधाममा आज रामनवमी मनाइँदै छ। चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाअजा गर्ने श्रद्धालुभक्तजनको घुइँचो लागेको छ।

नवमीमा सहभागी हुन नेपाल तथा छिमेक देश भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरू जनकपुरधाम आएका छन्। त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भगवान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ।

आजको दिन देशभरी रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमहरुमा स्नान ध्यान गरी व्रत बसी रामगीता पाठ, अध्यात्म वाल्मीकि र तुलसीकृत(रामायण वाचन गर्नुका साथै भगवान रामको पूजाआराधना गरी रातभरी भजनकीर्तन र जाग्राम बस्ने परम्परा रहिआएको छ।

राम अयोध्याका राजा दशरथको ज्येष्ठ पुत्र भई भगवान विष्णुको सातौँ अवतारको रुपमा जन्मेको बताइन्छ। राम मिथिलाका राजा जनकका पुत्री सीतासित विवाह गरी संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश गरेका थिए।

आफ्नो पिताको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएकाले रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

यो पर्व चैती नवरात्रीको बीचमै परेकाले आजको दिन भगवान रामको साथै आदि शक्ति नव दुर्गा देवीको समेत पूजा गरिन्छ । रामनवमीको अवसरमा मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।