१६ बैशाख २०८१, आईतवार 1714290247
Banner

क्यान कार्यसमिति बैठकमा विवाद

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिमा चर्को विवाद भएको छ। संस्थापन र असन्तुष्ट पक्षबीच झण्डै हात हालाहातको अवस्था बनेको थियो । त्यसक्रममा टेबलको सिसा समेत फुटेको छ।

२१ सदस्यीय कार्यसमितिका १० जनाले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीलाई बैठकको एजेण्डा बनाउन माग गरेका थिए। तर अध्यक्ष पंकजविक्रम नेम्वाङले एजेण्डामा नराख्ने निर्णय गरे। कार्यसमितिको बुधबार सुरु भएको बैठकमा नेम्वाङले आफूले अध्यक्षको अधिकार प्रयोग गरेर यसलाई एजेण्डामा समावेश नगरेको बताएका थिए।

तर असन्तुष्ट पक्ष सहमत भएनन्। त्यसक्रममा उपाध्यक्षद्वय दीर्घबहादुर केसी र दावा लामा लगायतका बीचमा भनाभन भएको थियो। एक जनाले टेबल ठोक्दा सिसा नै फुटेको छ। ‘झण्डै हात हालाहालको अवस्था थियो,’ स्रोतले भन्छ।

आफूहरुको मागअनुसार महासचिव र कोषाध्यक्षको बर्खास्तीलाई बैठकको एजेण्डा नबनाएको भन्दै १० जनाले उपस्थितिमा हस्ताक्षर गरेका छैनन्। असन्तुष्ट १२ जनामध्ये मनिष जोशी देश बाहिर छन् भने सरिला श्रेष्ठ संस्थापनतिर उभिएकी छन्। बैठकमा उपस्थितमध्ये १०ः१० जना बाँडिएका छन्।

असन्तुष्ट पक्षको बैठकले अध्यक्ष अल्पमतमा परेको भन्दै बैठकको बैधानिकतामै प्रश्न उठाएका छन्। संस्थापन पक्षले भने अध्यक्ष नेम्वाङसहित १० जनाको सहमति भएको भन्दै बैठक चलाएका छन्।