२४ बैशाख २०८१, सोमबार 1715018287
Banner

सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय, समर्थन पनि फिर्ता

काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । भर्खरै पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको नेकपा एमाले सचिव पद्मा अर्यालले सूचनाप्रेसलाई बताउनुभयो । बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता गरेको उहाँले बताउनुभयो ।

पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा अथमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री दाहालले नेकपा एमाले र एमालेले प्रतिनिधित्व गरेका मन्त्रीहरूप्रति गरेको व्यवहार र टिप्पणीका कारण आफूहरू सरकारबाट बाहिरिन बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिको निर्वाचनमा सहमति नभए पनि सरकारलाई सहयोग गरेर काम गर्ने सोचमा हामी थियौँ । तर पछिल्ला दिनमा प्रधानमन्त्रीज्यूले नेकपा एमाले र एमालेबाट प्रतिनिधित्व गर्नु भएको मन्त्रीप्रति गरेको अभिव्यक्ति र व्यवहारले गर्दा हामी सरकार छाड्ने निर्णयमा पुग्यौँ ।’

उहाँले सरकारले प्रतिनिधित्व गर्नुपर्ने ह्युमन राइट्स काउन्सिलको बैठकमा जानबाट परराष्ट्रमन्त्री विमला राईलाई अकारण रोकेकोमा आक्रोश व्यक्त गर्नुभयो । ‘मन्त्रिपरिषद्को निर्णयअनुसार बैठकमा जान लाग्नुभएकी परराष्ट्रमन्त्रीज्यूलाई निर्देशन दिएर अकारण रोकियो । हामीलाई स्वेच्छाले सरकार छाड्न लगाउने, नछाडे बिना विभागीय मन्त्री बनाउने तयारी गरियो । सार्वजनिक रूपमा नै सरकारमा हाम्रो सहभागिताबारे टिप्पणी गरेपछि हामी यो सरकारबाट अलग हुने निर्णय गरेका हौँ,’ पौडेलले भन्नुभयो ।