१४ बैशाख २०८१, शुक्रबार 1714134969
प्रदेश

स्थानीय तह निर्वाचन : उम्मेदवार चर्चा

म्याग्दी- म्याग्दीका राजनीतिक दलहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्र बनाएका छन् ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायतका दल आसन्न निर्वाचन तयारीमा जुटेका हुन् ।

राजनीतिक वृत्तमा भाबी उम्मेदवारको चर्चासमेत सुरु भएको छ । प्रमुख ती दलका युवा नेताले पार्टीले आफूलाई टिकट दिनुपर्ने दाबी गरेका छन् ।

उनीहरुले जनसम्पर्क विस्तार, सङ्गठन निर्माण गर्नुका साथै आ–आफ्ना कार्ययोजनाका फेहरिस्त जनतालाई सुनाउन थालेका छन् । यसरी उम्मेदवारको दाबी गर्नेहरूमा नयाँ अनुहारदेखि पार्टीका पुराना नेता तथा कार्यकर्तासमेत छन् ।

एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तह रहेको जिल्लामा बेनी नगरपालिकाको निर्वाचन भने निकै पेचिलो बन्ने देखिएको छ । सो नगरपालिकाको प्रमुखमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी देखिए पनि निर्वाचनका लागि सम्भावित गठबन्धनका लागिसमेत पहल सुरु भएको बताइएको छ ।

जिल्लाका सम्पूर्ण राजनीतिक दल अहिले सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानमा गाउँ पसेका छन् । पार्टी प्रवेश गराउने, सदस्यता वितरण गर्ने, सङ्गठन विस्तार गर्ने क्रम तीव्ररूपमा चलेको छ । यसैगरी केही युवाहरूले आफ्नो भाबी कार्ययोजनासहित स्वतन्त्र उम्मेदवारीसमेत घोषणा गरिसकेका छन् ।

निर्वाचनमा आफूहरूको सहभागितालाई सुनिश्चित गर्न पार्टीका नेता–कार्यकर्ता कसरी परिचालन गर्ने भन्ने विषयका छलफलले तीव्रता पाएका छन् भने अर्कोतिर पार्टीको टिकट पाउने दाउपेचले नेताहरूको घरमा भीड लाग्न सुरु भएको छ ।

बेनी–३ का दलबहादुर घर्तीले आफ्ना वडाका जनप्रतिनिधिबाट राम्रै काम भएको जनाउँदै अबको निर्वाचनमा पनि उनीहरुलाई नै मौका दिने हो भने गाउँको विकास छिटो हुने प्रतिक्रिया दिनुभयो ।

यसपटक जित्नेलाई टिकट दिनुपर्ने र व्यक्तिको लोकप्रियताको ख्याल गर्नुपर्ने विचार व्यक्त गर्न थालेका छन् । कतिपय व्यक्तिले त नामै तोकेर अबको निर्वाचनमा उम्मेदवार बन्न नेताहरुलाई आग्रहसमेत गरेका छन् ।

कार्यकर्ताले सामाजिक सञ्जालबाट दबाबमूलक इच्छा प्रकट गरे पनि पार्टीको निर्णय नसोचेको हुनसक्ने नेताहरू बताउँछन् । स्थानीय तह निर्वाचनमा समेत गठबन्धन कायम रहने हो भने निर्वाचनको माहोल अझ रोचक बन्ने देखिएको छ ।

जिल्लामा सक्रिय राजनीतिक पार्टी बाहिर–बाहिर आन्तरिक विवाद खासै नदेखिएको भए पनि भित्रभित्र यी पार्टीका नेता कार्यकर्तामा महत्वकाङ्क्षा र गुटगत स्वार्थ भने रहेको राजनीतिक विश्लेषकहरूले बताएका छन् ।