१४ बैशाख २०८१, शुक्रबार 1714172594
Banner

फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल फोडेर सोमबार बिहान ६ जना थुनुवाहरू फरार भएका थिए । हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेसन टोली खटाएर खोजतलास तीव्र पारेको छ । सर्च टोली फरार थुनुवामध्ये रोशन महतोलाई पक्राउ गर्न सफल भएको हो । मिथिला नगरपालिका–६ का २८ वर्षीय महतोलाई आज बेलुका पुनः पक्राउ परेको जिल्ला प्रहारी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिनुभयो । उनीमाथि हातहतियार खरखजाना मुद्दा चलिरहेको छ । महतोलाई हतियारसहित गत शनिबार मात्रै पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको थियो । महतोलाई धनुषाको मिथिला नगरपालिका–८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी हिरासतबाट फरार अन्य पाँचजनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो ।

हिरासतबाट ६ जना थुनुवा एकैसाथ फरार भएपछि ड्युटीमा रहेका इलाका प्रहरी कार्यालयका दुई प्रहरीलाई निलम्बन गरिएको छ भने घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएका छन् । लागूऔषध, हातहतियार, अभद्र व्यवहारका सातजना थुनुवामध्ये ६ जना थुनुवा हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका थिए । पुरानो भवनमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोरेर बिहान ३ बजे थुनुवाहरू फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।