१४ बैशाख २०८१, शुक्रबार 1714166145
Banner

एमसीसीबारे माओवादी बैठकमा यी चार नेताले राखे लिखित असहमति, प्रचण्डले यसरी गरे एमसीसी पासबारे बचाउ

शुक्रबारबाट सुरु नेकपा माओवादी केन्द्रको बैठकमा चार नेताले एमसीसीबारे लिखित असहमति राखेका छन् ।

माओवादी प्रमुख सचेतक देव गुरुङ, प्रवक्ता कृष्णबहादुर महरा र नेताहरू गिरिराजमणि पोखरेल तथा लिलामणि पोखरेलले एमसीसी राष्ट्रघाती भएको भन्दै लिखित असहमति पेस गरेका हुन् ।

पार्टीको निर्णय मान्ने तर, आफ्नो मत पनि सुरक्षित रहोस् भनेर लिखित असहमति राखेको उनीहरुको भनाइ छ । व्याख्यात्मक घोषणा गलतरुपमा पारित गरिएको नेताहरुको भनाइ छ ।

‘हामी पार्टीको निर्णय मान्छौं । तर, मत सुरक्षित रहोस् भनेर लिखित रुपमा असहमति दर्ज गराएका छौं’, बैठकपछि नेता गुरुङले भने, ‘एमसीसी रिजेक्ट हुनु पर्ने हो। यो राष्ट्रघाती सम्झौता नै हो। तर, व्याख्यात्मक घोषणा भन्दै गलत रुपमा पारित गरियो।’

उनले व्याख्यात्मक घोषणाले नेकपा माओवादी केन्द्रले भन्दै आएको जसरी संशोधन नगर्ने र यसको कुनै कानुनी अर्थ नहुने तर्क गरे ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसी पास गर्नु आफ्नो बाध्यता भएको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएरै भएपनि एमसीसी पास गर्न खोजेपछि गठबन्धनभित्र छलफल गरेर ब्याख्यात्मक घोषणामा सहमति जुटाइएको जीकिर गरे।

माओवादी परिमार्जन बिना एमसीसी पास गर्ने पक्षमा नभएपनि गठबन्धनलाई जोगाउनका लागि व्याख्यात्मक घोषणामा सहमति भएको उनको भनाइ छ ।